काठमाडौँ– नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले जनताको पक्षमा कुनै पनि काम नगरेको आरोप लगाएका छन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई समेत व्यावसायिक बीमाको रुपमा बुझिरहेको बताए ।
आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक नबनाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताएका हुन्।
उनले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्ने बताए। उनले वर्तमान सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको आरोप लगाए।
‘पछिल्लो स्वास्थ्य बीमा कार्यक्रमलाई आजको सरकारले व्यवसायिक बीमाको रुपमा बुझिरहेको छ । तर यो व्यवसायिक बीमा होइन, सामाजिक सुरक्षाको स्वास्थ्य बीमा हो । त्यसकारणले हामी यसमा फेरि पनि जोड दिन चाहन्छौँ’ उनले भने, ‘यसलाई सामाजिक सुरक्षा बीमा अन्तर्गत निरन्तर अघि बढाउन र स्वास्थ्य बीमा ऐन अन्तर्गत बढाइ पूर्ववत अवस्थामा सञ्चालन गर्नको निम्ति दलको तर्फबाट ध्यानाकर्षण गराउन चाहन्छु ।’
सत्तारुढ पाँचदलीय गठबन्धन सरकारलाई पञ्चमुखी भएको भन्दै उनले गंगालाल अस्पतालमा ६० वर्षे उमेरहदका कारण सेवानिवृत्त गर्नुपर्ने डाक्टरका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्रीको निर्देशनमा ६३ वर्षको उमेर हद गर्ने गरेर नियमावली संशोधन गरिएकोप्रति आपत्ति जनाए।
‘हामीले स्वास्थ्यबीमाको दायरा फराकिलो बनाउन, त्यसलाई १० लाखसम्म भुक्तानि दिने व्यवस्था गर्नको निम्ति भन्दै आएका थियौँ । स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउनु पर्नेछ । आज १ लाख छ, १० लाख बनाउनु पर्छ।