काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका विशेषज्ञ चिकित्सकहरूको उमेर हद बढाउने निर्णयको नेकपा एमालेले विरोध गरेको छ ।
आइतबार संसदको शून्य समयमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त निर्णयको विरोध गरेका हुन् । संचालक समितिले ६० बाट बढाएर उमेर हद ६३ वर्ष बनाएको छ ।
‘एउटा प्रधानमन्त्रीको कुर्सी छ, चार जना डिफ्याक्टो प्रधानमन्त्री भएको यति बहादुर सरकार, उसले चाह्यो भने ६३ वर्ष गर्दिनसक्छ, चाह्यो भने ८० वर्ष गर्दिन सक्छ ,’ उनले भने ।
अस्पतालका एक चिकित्सकको सेवा अवधि सकिनै लागेको बेला उमेद हद बढाइएको उनको आरोप छ । ‘म यति बलियो, बहादुर सरकारलाई भन्न चाहान्छु । त्यो चिकित्सकको नागरिकता खिचेर ४० वर्षको नागरिकता बनाइदिनुस् । त्यसो भयो भने उहाँले अर्को २० वर्ष जागिर खान पाउनु हुन्छ । त्यसो गरे कसो होला सभामुख महोदय ?’ भट्टराईले भने ।