जब बालेन ट्राफिक प्रहरीसँगै सडकमा निस्किए

काठमाडौँ– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनहरुमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू गरेको छ ।

काठमाडौं महानगरपालिकाको समन्वयमा आयोजना गरिएको ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको आइतबार उद्घाटन गर्दै कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले चारपाङग्रे र दुई पाङ्ग्रे सवारी साधनहरुलाई अनावश्यक रुपमा हर्न नबजाउन सचेत गराउने उद्देश्यले यो अभियान थालिएको जानकारी दिए ।

कार्यक्रममा काठमार्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले संवदेनशील क्षेत्र वरिपरि बजाइने हर्नको असर नराम्रो पर्ने भन्दै यो अभियान सार्थक हुने विश्वास ब्यक्त गरे। उनले नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताए ।

उद्घाटन कार्यक्रमका क्रममा प्रमुख चौधरी र मेयर साहले सिंहदरबार अगाडिको सडकमा गुडिरहेका सवारी साधनमा स्टीकर टाँसेका थिए ।

नो हर्न स्टिकर अभियानका लागि पद्य्मकन्या क्याम्पसका सय जना छात्रालाई स्वयम्सेवकको रुपमा परिचालन गरिएको छ ।

महानगरले यसअघि पनि अनावश्यक रुपमा हर्न बजाउनेहरुका लागि सुरूमा ५ सय रुपैयाँ दोश्रो पटक १ हजार र पटकेमा परे १५ सय रुपैयाँ जरिवाना गर्दै आएको छ ।

काठमाडौं महानगरपालिकाले वि.सं. २०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

सम्बन्धित समाचार