पाँच दिने भ्रमणका लागि जापान पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको बताएका छन् ।
आज बिहान नारिता विमानस्थलमा अवतरण भएका उनले पत्रकारसँग कुराकानी गर्दै आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटवार्ता र अन्तरक्रिया भएको सम्झिंदै प्रचण्डले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भए पनि त्यो पूरा नभएको बताएका हुन् ।
आफ्नो भ्रमणको टुंगो लागेपछि आबेसँग भेट्नलाई राजदूत र दूतावासमार्फत मिलाउने प्रयास गरिरहेको भन्दै उनले भने, ‘उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो । त्यो चाहिं पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानका लागि त यो विरलै हुने घटना हो ।’
पूर्वप्रधानमन्त्री आबेको केही समयअघि गोली हानी हत्या भएको थियो । अध्यक्ष प्रचण्डले आबेका परिवारलाई समवेदना व्यक्त गर्दै मौका मिले भेट्ने बताएका छन् ।
भ्रमणका क्रममा प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि आइतबार प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने र हिरोसिमाको पनि भ्रमण गर्नेछन् ।
जापानमा रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको छ।
अध्यक्ष प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन् ।