अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनायताकै न्यून बिन्दुमा झरेको छ । नेपालले प्रशोधित रुपमा खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य शुक्रबार प्रतिब्यारेल ९४ डलर ६३ सेन्ट कायम भएको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्य गत २४ फागुनमा हालसम्मकै उच्च बिन्दु १२४ डलर थियो । कच्चा तेलको मूल्य पाँच महिनायता ३० डलर प्रतिब्यारेलमा घटेपछि यसले नेपाल जस्तो तेलको मूल्यका कारण संकट उन्मुख रहेको अर्थतन्त्रलाई राहत पुग्ने अनुमान गरिएको छ ।

कच्चा तेलको मूल्य घट्नुलाई तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठनको निर्णय प्रमुख मानिएको छ । संगठनले सेप्टेम्बर महिनाका लागि कच्चा तेलको उत्पादन बढाउने दैनिक एक लाख ब्यारेलले बढाउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दाको फाइदा नेपालमा सुरु भइसकेको नेपाल आयल निगमले जनाएको छ । अंग्रेजी महिना जुलाईमा मात्रै अन्तर्राष्ट्रिय मूल्य र स्वदेशी खपत दुवैमा भएको कमीले समग्र भुक्तानी मूल्यमै बचत भएको निगमका नायवकार्यकारी निर्देशक एवं लेखा प्रमुख नागेन्द्र साहले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार