आगामी निर्वाचनपछि एमालेले एकल बहुमतको सरकार बनाउँछ : अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउन सक्ने बताएका छन् ।

शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काम गर्न दुई तिहाई बहुमत आवश्यक भएको तर दुई तिहाइ बहुमत ल्याउन सक्ने सम्भावना नरहे पनि बहुमत मात्र ल्याउन सक्ने बताएका हुन् ।

‘तत्काल दुई तिहाइको सम्भावना छ भन्ने मलाई लाग्दैन’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अहिले हामीले दुई तिहाई प्राप्त गर्ने सम्भावना छैन ।’ उनले अहिले इमान्दार प्रयासलाई संगठित र योजनावद्ध ढंगले अगाडि बढाउन सके बहुमत प्राप्त गर्न सक्ने बताए ।

यस्तै ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको प्रस्ताव अघि नबढाएकोमा आक्रोश व्यक्त गरेका छन् । उनले आफूले चाहे अनुसारको नतिजा नआउने भएकाले सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्तावलाई अघि नबढाएको आरोप लगाए ।

ओलीले सभामुख अग्नी सापकोटा र सरकारको आलोचन समेत गरे । ‘गैरजिम्मेवार सरकारका खेलौना सभामुख, आफ्नो टेबलमा भएको महाअभियोगको प्रस्तावको छिनोफानो गर्नु पर्दै ?’ ओलीले भने, ‘‘मान्छेलाई डामेर छाड्ने, अभियोग लगाएर छाड्न ? तर त्यो अभियोगका बारेमा नबोल्ने ।’

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धमा आवद्ध दलले गत फागुनमा संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

सम्बन्धित समाचार