सत्तागठबन्धन बैठक : तालमेलका लागि कार्यदल बनाउने सहमती

'सीट बाँडफाँडमा कुरा मिलाउन सकस'

काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।

‘आगामी चुनावमा सत्ता गठबन्धन एक भएर जाने निर्णय भएको छ’, भुसालले भने, ‘चुनावी तालमेलबारे कार्यदल बनाउने निर्णय भएको छ ।’ उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को को बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भएका छन् ।

यस्तै बैठकमा प्रतिनिधिसभाका १६५ सिटमा कांग्रेसले ६०–४० को प्रस्ताव राखेको छ । यो प्रस्तावलाई गठबन्धनका अन्य दलहरुले अस्वीकार गरेका छन् । सबैलाई बराबर सिट बाड्नु पर्ने उनीहरुको माग छ ।

बैठकले सरकारले हिजो चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आजबाट हुने जापान भ्रमणका लागि शुभकामना दिएको छ । बैठकका निर्णयहरु विज्ञप्तिमार्फत सार्वजनिक गर्ने नेता भुसालले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार