काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले दुई तहको निर्वाचन एकै चरणमा गर्ने गरि मिति घोषणा गरेको हो ।
योसँगै भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरिने जानकारी दिएका छन् ।
आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।
यस्तै चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिए । संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्ने व्यवस्था अनुरुप सो प्रक्रिया आइतबारबाट सुरु गर्न लागेको आयोगले जनाएको छ ।
निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताका लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।