चीनले सुरु गर्‍यो ताइवान नजिकैका क्षेत्रमा सैन्य अभ्यास

काठमाडौँ– अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै चीनले ताइवाननजिकै सैन्य अभ्यास सुरु गरेको छ। चीनको सैन्य अभ्यासलाई जी ७ मुलुकहरुले विरोध गरेका छन् भने आसियन मुलुकले भने समर्थन गरेका छन्।

बुधबार नै जी७ का विदेशमन्त्रीहरुको बैठकले ताइवान नजिकै चीनले घोषणा गरेको सैन्य अभ्यासको विरोध गरेका हुन्। उनीहरुले चीनको सैन्य अभ्यासले ताइवान खाडीको अन्तर्राष्ट्रिय सन्तुलन, शान्ति र स्थायित्वमा असर पार्ने बताएका छन्। यस्ता गतिविधिले अनावश्यकरुपमा तनाव बढाउने जी७ का विदेशमन्त्रीहरुको निष्कर्ष छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो सैन्य अभ्यास ताइवान सीमाबाट १६ किलोमिटर मात्रै टाढा भइरहेको छ ।

यसमा वास्तविक हतियार र गोलाबारुद प्रयोग भइरहेका छन्। यो अभ्यास अगस्ट ७ सम्म चल्नेछ। यसअघि चीनले ताइवानबाट करिब १०० किलोमिटर टाढा यस्तो अभ्यास गर्दथ्यो । न्यान्सीको भ्रमणपछि सो अभ्यास सीमाको निकै नजिक भइरहेको छ ।

पीएलए इस्टर्न थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ कर्नेल शि यीले सैन्य अभ्यासको क्रममा लामो दूरीको लाइभ फायर सुटिङ गरिने बताए। यसका साथसाथै मिसाइलको परीक्षण पनि गरिने उनले जानकारी दिए।

ताइपेईले आफूहरुले चीनको हरेक कार्यमा नजर राखिरहेको बताइन्। युद्ध गर्नुपरे पनि तयार रहेको उनको भनाइ छ।

ताइवानको रक्षा मन्त्रालयले भने आफूहरु कुनै प्रकारको तनाव नचाहने बताएको छ। ताइवान विवाद ल्याउने अवस्थाको विरुद्धमा रहेको र आफूहरु युद्ध नचाहने तर युद्धको लागि तयार भने रहेको मन्त्रालयले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार