संघ र प्रदेश निर्वाचनमा १० अर्ब रुपैयाँ खर्च हुने आयोगको अनुमान
'एक लाखकै हाराहारीमा म्यादी प्रहरी आवश्यक'
प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा १० अर्ब रुपैयाँ खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ ।
अघिल्लो निर्वाचनमा सात अर्ब ८० करोड खर्च भएकोमा हाल बढेको महँगी, तलब–भत्तामा भएको वृद्धि र मतदाताको संख्यामा भएको वृद्धिलगायतका कारण करिब १० अर्ब खर्च हुने आयोगको अनुमान छ । प्रधानमन्त्रीसँगको छलफलमा आयोग पदाधिकारीले यसबारे जानकारी गराइसकेका छन् ।
यता सरकारले प्रतिनिधिसभा र प्रदेश सभा चुनावको घोषणाको गृहकार्य गरिरहँदा सुरक्षा निकायले पनि आफ्नो तयारी थालेका छन् । स्रोत–साधन पर्याप्त उपलब्ध गराए एकै चरणमा निर्वाचनका लागि सुरक्षा निकाय सक्षम रहेको उनीहरूको भनाइ छ ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल एकै चरणमा निर्वाचनका लागि सुरक्षाको दृष्टिकोणले कुनै समस्या नभएको बताए । निर्वाचनको घोषणा भएलगत्तै सुरक्षा योजना बनाएर अघि बढिने उनको भनाइ छ ।
गत ३१ वैशाखमा स्थानीय तहको निर्वाचन सहज रूपमा एकै चरणमा गरेकाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि ठूलो समस्या नभएको प्रहरी अधिकारीहरू बताउँछन् ।