कुमारी बैंकको नाफा ४३.८७% ले बढ्यो, अन्य सूचक कस्ता ?

कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ८३ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४३.८७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो  ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले १२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ   ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ३२.६८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म ३ अर्ब रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ    ।

चौथो त्रैमाससम्म बैंकले ६ अर्ब ३८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ७ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी २७.६७ प्रतिशतले बढेको छ  ।

बैंकले १ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो  ।

बैंकको रिजर्भको आकार २५.४१ प्रतिशतले बढेर ४ अर्ब ६१ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३ अर्ब ६७ करोड रुपैयाँ थियो  ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) ०.९६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष पनि एनपीएल ०.९६ प्रतिशत नै थियो। सीडी रेसियो ८५.१२ प्रतिशत रहेको बैंकको आधार दर १०.५७ प्रतिशत रहेको छ   ।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.२० रुपैयाँबाट बढेर १९.२७ रुपैयाँ भएको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९.९२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४.०१ रुपैयाँ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार