देशभक्त जनगणतान्त्रीक मोर्चाले नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सीपी गजुरेल नेतृत्वको टोलीले मंगलबार शितल निबास पुगेर प्रतिनिधिसभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको हो।
लोभ ,लालच, आश्वासन, प्रलोभन, प्रभाव, दबाव र पैसाको चलखेलका आधारमा गैरनेपाली नागरिकले नागरिकता पाउने गरी राष्ट्रहित विपरीत नागरिकतासम्बन्धी विधेयक सदनबाट पारित गरिएको उनीहरुको भनाइ छ। राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि प्रस्तुत भएको उक्त विधेयक दक्षिण एसियाका अरु देशहरूको नागरिकता प्राप्तिका प्रबन्ध र प्रावधानसँग पनि कुनै तादाम्यता नरहेको मोर्चाले जनाएको छ।
मोर्चाले नागरिकता बिधेयकमा सर्वपक्षीय सहमति आवश्यक रहकोमा जोड दिएको छ। यसबारे व्यापक मात्रामा छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र यसलाई अन्तिम रूप दिनका लागि यो विधेयक संसद्मा नै फिर्ता पठाइयोस् भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन्।