दिनेशकाे १० पेज लामाे सुसाइड नाेट : घटनाकाे कारण सुनिताकाे माइती [भिडियाे]
'आफूलाई फसाएर सम्पती कब्जा गर्न खाेजेकाे आरोप'
काठमाडाैँकाे तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीका दिनेश पाण्डेले श्रीमती र दुई छोराछोरीको हत्या गर्नुअघि लेखेको सुसाइड नोट भेटिएको छ। उक्त सुसाइड नाेट १० पेज लामाे छ ।
सुसाइड नोटमा दिनेशले यो घटनाको प्रमुख दोषी पत्नी सुनिता पाण्डेका माइतीलाई मानेका छन्। आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेर आफूलाई सिद्याउन खोजेपछि यति गम्भीर कदम उठाउन बाध्य भएको सुसाइड नोटमा दिनेशले लेखेका छन् ।
‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दुस्ख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे’, उनले सुसाइड नोटमा भनेका छन्, ‘मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे। श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ।’
उनले यो घटनाको कारकका रुपमा श्रीमतीलाई नै दोष देखाएका छन्। सुसाइड नोटमा दिनेशले श्रीमतीलाई अर्कैसँग सम्बन्धको पनि आशंका गरेका छन्।पाण्डेले आफूलाई मोबाइल समेत हेर्न नदिएको, लुकीलुकी अर्कैलाई म्यासेज र कल गर्ने गरेकाले आफूलाई सम्हाल्न गाह्रो भएको पनि सुसाइड नोटमा उल्लेख गरेका छन्।
घटनाकाे अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार दिनेशले आफ्ना दुई कलिला सन्तानको ज्यान लिने निर्णयबारे पनि सुसाइड नोटमा उल्लेख गरेका छन्। श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गर्ने भएपछि छोराछोरीलाई एक्लै छाड्ने मन नलागेकाे उनले उल्लेख गरेका छन् ।
‘मेरा बच्चाबच्चीको औधी माया लाग्छ’, उनले नोटमा भनेका छन्, ‘मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लिन जान यो कठोर कदम चाल्नु परेको हो।’
४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिकको पनि आइतवार राति ज्यान लिएर आत्महत्या गरेका थिए।