काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ।
मन्त्रालयमा आज समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरूलाई जिम्मेवार बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिइन्। सहकारीहरू मूल्य, मान्यता र सिद्धान्तअनुसार चल्नु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले सहकारीहरू समस्याग्रस्त बन्ने अवस्था आउन नदिने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह समेत गरिन्।
उनले सहकारी अभियान र आन्दोलनलाई स्थापित गर्न र सहकारीलाई उत्पादनसँग जोडेर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकिन्छ भन्नेमा मन्त्रालय विश्वस्त रहेको बताइन्।