काठमाडाैँ- तारकेश्वरमा ४ जनाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।सोमबार विहान दिनेश, सुनितासँगै उनीहरुको छोरा आशिक र आशिका पनि मृत भेटिएका थिए ।
मृत भेटिएका सुनिता काप्री पाण्डेको माइती पक्षले घटनाको अनुसन्धानको माग गर्दै शव उठाउन अवरोध गरेको प्रहरीले बताएको छ । उनीहरुले पति दिनेश र सुनिताबीच विवाद रहेको र दिनेशले सम्बन्धबिच्छेद गर्न चाहेको बताएका छन् । तर सुनिताले अस्वीकार गरेकी थिइन् ।
पछिल्लो समय सुनिता बेलायत जाने तयारी गरेपछि परिवारमा विवाद बढेको थियो । श्रीमान–श्रीमतीको विवादले परिवार नै सखाप भएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक सुनिताको शरीरमा ७ भन्दा धेरै ठाउँमा चक्कु प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानबाट पहिला श्रीमती र त्यसपछि दुई छोराछोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको खुलेको छ। गोरखाको भीमसेन थापा गाउँपालिकास्थित आश्राङ घर भएका उनीहरुको पदमसालमा एक तले घर थियो भने घर नजिकै चोकमा फेन्सी पसल रहेको थियो ।
स्थानीयवासीका अनुसार श्रीमान–श्रीमतीबीच पहिलेदेखि नै झगडा हुने गरेको थियो । विवादकै क्रममा श्रीमानले घर बेच्न खोजेपछि विवाद उग्र बनेको थियो । घर बेच्ने कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिइ दिनेशले घर बेच्न १० लाख बैना गरेको खुलेको छ । यस्तै सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि खुलेको छ ।
विवादकै क्रममा माइती पक्षले छोरीलाई बेलायत पठाउने भनेर निर्णय गरेर भिसा पनि आइसकेको पाइएको छ। बेलायत जाने तयारी हुँदै गर्दा परिवार नै सखाप बन्न पुगेको छ । शवको प्रकृति हेर्दा राति नै घटना भएको जस्तो देखिने प्रहरीको भनाइ छ ।