काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेकपाले आपत्ति जनाएको छ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि उक्त दलले सरकारी कदमको विरोध गरेको छ ।
‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’
प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ ।’
पार्टी तीन बुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिका प्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओली र वर्तमान सरकार वर्तमान ३ बुँदे सहमतिप्रति इमान्दार नदेखिएको नेकपाको ठहर छ ।
थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएको जनाइएको छ । पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ ।