प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले महँगी, भ्रष्टाचारकाे विराेधमा वृहत् जनप्रदर्शन गरेकाे छ । मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली सुरु भएको हो ।
जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमूढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर समापन सभामा परिणत हुनेछ ।
सभालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने एमालेले जनाएकाे छ । जन प्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यस अन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहने छ ।