भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।
अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएको थियो । तर मूल्य घटेर आउँदासमेत यता आन्तरिक बजारमा मूल्य समायोजन नगरेको निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा डिजेल मट्टितेलमा समान २१ रुपैयाँ ९२ पैसा घाटामा नै रहेको जनाएको थियो ।
योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगम स्रोतले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो ।