मर्जरको प्रक्रियामा रहेका आधा दर्जन ठुला वाणिज्य बैंकको सेयर कारोबार रोक्का

मर्जरको प्रक्रियामा रहेका वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ । मर्जर र प्राप्तिमा जान लागेका प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक र नेपाल बंगलादेश बैंकको सेयर कारोबार रोक्का भएको हो ।
पछिल्लो तथ्यांक अनुसार मर्जरमा जाने सहमति भएर कारोबार रोक्का भएका वाणिज्य बैंकहरुको संख्या ८ पुगेको छ । आइतबार मात्रै प्रभु र सेन्चुरी बैंकले मर्जरमा जाने सहमति गरेका थिए । प्रभुले सेन्चुरीलाई समान हैसियतमा प्राप्ति गर्ने प्रारम्भिक सहमती गरेको हो । सोमबारबाट सेन्चुरी बैंकको कारोबार रोक्का भएको छ।
यस्तै मर्जरमा जान लागेका मेगा र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार पनि रोक्का छ ।
यता मर्जरको सहमति गरेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू, हिमालय बैंकले प्राप्ति गर्ने भएको सिभिल बैंकको सेयर कारोबार पनि रोक्का छ ।
यसअघि मर्जर सहमती गरेका नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार भइसकेको भएपनि सेयर कारोबार रोक्का नै रहेको छ ।
नबिल बैंकले बंगलादेश बैंकलाई प्राप्ति गरेको र हिमालयन बैंकले सिभिललाई पनि प्राप्ति गर्ने भएकाले यी दुई बैंक तर्फको सेयर भने कारोबार मै रहेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको धितोपत्र कारोबार रोक्का राख्ने व्यवस्था खारेज गर्दै धितोपत्र बोर्डलाई मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको कारोबार रोक्का गर्ने, नगर्ने के व्यवस्था गर्ने भन्ने जिम्मा दिएको छ।
धितोपत्र बोर्डले चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का सम्बन्धी नयाँ निर्देशिका केहि दिनमा निर्माण गरी लागु गर्ने घोषणा गरेको छ ।
सबै बैंकलाई एकीकृत कारोबार गर्न भने राष्ट्र बैंकले स्विकृती दिनुपर्ने छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार