अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारीको विकल्प छैन् : श्रममन्त्री
रामजी बगालेसहित ६ जना संचारकर्मी सम्मानित
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली संघ एनआरएनएबीच भर्खर भएको दुईपक्षिय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धीमुलक हुने अपेक्षा गरेको बताएका छन् ।
निगरानी दैनिक मिडियाको वार्षिकोत्सव कार्यक्रममा मन्त्री कुँवरले यस्तो बताएका हुन । आईतबार भृकुटिमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु विषयक विचार गोष्ठिमा मन्त्री कुँवरले उक्त कुरा बताएका हुन ।
उनले वैदेशिक रोजगारीको क्षेत्रमा भएका विविध समस्या समाधान गर्नकालागि गैर आवासीय नेपाली संघले खेलेको भूमिका एकदमै प्रसंसनिय भएको बताए ।
उनले अहिलेसम्म विभिन्न मुलुकमा अलपत्र परेका नेपाली कामदारको उद्धार एवं समस्यामा परेका कामदारलाई आइपरेका विविध समस्या समाधान गर्न गैर आवासीय नेपाली संघले सम्बन्धीत रोजगारदाता मुलुकको सरकार र नेपाल सरकारसँग राम्रो सहकार्य गर्दै आएकाले सरकारको प्रयासमा धेरै सहयोग पुगेको बताएका छन् ।
आफुले यस मन्त्रालयको जिम्मेवारी पाएको आइतबार १ महिना दुईदिन हुँदा वैदेशिक रोजगारीको क्षेत्रका धेरै गुनासो सुनेको भन्दै मन्त्री कुँवरले अब आफुले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अहिलेसम्मको गुनासो र अनुभवको आधारमा वैदेशिक रोजगारिको क्षेत्रका समस्या र समाधानमा धेरै चुनौति रहेको भन्दै उनले हाल दुई दर्जन भन्दाबढी नेपाली कामदार खाडीको विभिन्न ठाउँमा कोमामा रहेको जानकारी प्राप्त भएकाले अब जतिसक्दो छिटो उनीहरुलाई स्वदेश फर्काउन आफुले सम्बन्धीत दुतावास र कुटनीतिक नियोगसँग पहल गरेको बताएका छन् ।
अहिले धेरै नेपाली खाडीका जेलमा रहेको गुनासो पनि आफुले सुन्नु परेको भन्दै उनले वैदेशिक रोजगारीमा जानेहरुले धेरै जोखिम मोलेर काम गरिरहेकाले अब नेपाल सरकारले उच्च जोखिममा परेका कामदारको सहयोग गर्ने बताएका हुन् ।
मन्त्री कुँवरले नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको २५ प्रतिशत भन्दा बढी योगदान रहेको र वार्षिक ९ खर्ब ८३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिरहेको जानकारि गराउँदै अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारीको विकल्प नभएको बताए ।
गैर आवासिय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले हालसालै मात्र दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितमा भएको उल्लेख गर्दै त्यसबाट गैरआवासिय नेपालीहरुमा उत्साह थपेको धारणा राखे । आचार्यले उक्त बिधेयक पारित गराउन आ आफ्नो क्षेत्रबाट योगदान गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे ।
उनले विभिन्न देशहरुसँग संवाद गरि विदेशमा काम गर्ने नेपालीहरुको आर्जनको केहि हिस्सा नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषमा कोष कट्टी गर्ने व्यवस्था गर्न सके विदेशमा कार्यरत तमाम नेपाली साथै मुलुकको विकासमा टेवा पुग्न जाने दावी गरे । यसैगरि, आचार्यले वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न सकियो भने कामदार र देशलाई वार्षिक झन्डै २ खर्ब फाइदा हुने बताए । जसका लागि अहिले श्रम मन्त्री कुँवर, श्रम सचिव एकनारायण अर्याल र सामाजिक सुरक्षा कोषका सिईओ कपिलमणि ज्ञवालीहरुले राम्रो सहयोग गरिरहेको आचार्यले बताए ।
त्यसैगरि, टानका अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकहरुको योगदान उच्च रहेको स्मरण गर्दै उनीहरुको समस्याको समाधान हुन नसकिरहेकाले अन्तर मन्त्रालय समन्वय गरि समस्या समाधानमा पहल गर्न मन्त्री कुँवरलाई आग्रह गरे ।
कार्यक्रममा निगरानी दैनिककी अध्यक्ष निर्मला दंगाल खनालले सभापतिको आसनबाट बोल्दै मिडियाले स्वच्छ, निर्भिक र निष्पक्ष तबरले पत्रकारिता गर्न गर्दै आएको र सोही भावना अनुरुप कार्य गर्दै जाने प्रण व्यक्त गरिन ।
कार्यक्रममा ग्लोबल नेपलिज सेफ फेडरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले संस्कार र संस्कृतीको जगेर्ना गर्न नेपालीहरु चुकिरहेको महशुश गरेको भन्दै देशको चौथो अंगले यस विषयलाई गम्भिरतापूर्वक लिनुपर्ने बताए ।
त्यसैगरि, निगरानी मिडियाका प्रवन्ध निर्देश जीवन शर्माले मिडियालाई माया गरि छोटो समयमा सफलतापूर्वक कार्यक्रम गर्न सक्ने अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै कार्यक्रममा उपस्थिती तथा सम्मानित हुने सबैमा धन्यवाद तथा बधाई ज्ञापन व्यक्त गरे ।
कार्यक्रममा अन्तराष्टिय युवा उद्यमी महासंघका मध्य पूर्व अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य पुर्ण पोखरिया,नेपाली ब्यावसायी संघ कतारका महासचिव रमेश भट्टलगायतको उपस्थिती रहेको थियो ।
संचारकर्मी र पेशाकर्मीहरु सम्मानित
सञ्चारकर्मी र अन्य पेसाकर्मीहरू सम्मानित भएका छन् । कार्यक्रममा उत्कृष्ट सञ्चारकर्मी र अन्य पेसाकर्मीहरूलाई समेत सम्मान गरिएको हो।
सो अवसरमा जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष एवं सम्पादक रामजी बगालेलाई पत्रकारिता उद्यमशीलता पुरस्कारबाट श्रममन्त्री कुँवर र एनआरएनए अध्यक्ष आचार्यले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
यस्तै ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझा , सगरमाथा पोस्ट तथा अग्निवाण साप्ताहिकका सम्पादक रविन प्रसाद थपलिया, न्युजलाईन्स मिडियाकी प्रबन्ध निर्देशक रिता भट्ट ढकाल र नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमलालाई पत्रकारिता उद्यमशीलता पुरस्कारबाट सम्मानित गरियो भने राजधानी राष्ट्रिय दैनिकका आर्थिक बिट प्रमुख मधुजंग पाण्डेलाई आर्थिक पत्रकारिता पुरस्कार र न्युज नेपाल एचडिका सञ्चालक तथा क्यामरापर्सन प्रताप भट्टलाई फोटोपत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।
त्यसैगरि, अन्य पेसाकर्मी तर्फ नेपाली व्यवसायी सङ्घ कतारका महासचिव रमेश भट्ट अन्तरास्ट्रीय युवा उद्यमी सम्मान,सुनेरा ईन्टरनेशनलका सञ्चालक सन्तोष कोइराला वैदेशिक रोजगारदाता सम्मान, खेलाडी तथा प्रशिक्षक भुवन बुढा मगरलाई राष्ट्रिय खेलाडी सम्मान, फेसियल हाउसकी सञ्चालिका सुस्मा महरा राष्ट्रिय महिला उद्यमी सम्मान , सरकारी सेवामा सेवारत नेपाल सरकारका अधिकृत प्रदीप न्यौपाने राष्ट्र सेवा सम्मान, सेफ लक्ष्मण प्रसाद भण्डारी हस्पिटालिटी सम्मान, विण्डो नेपाल एजुकेशन सेन्टरका सञ्चालक तथा प्रबन्ध निर्देशक नारायण रेग्मी शिक्षा सेवा सम्मान, बाल गृह सञ्चालक तिल बहादुर कार्की अपागंता सेवा सम्मानलगायत अन्य लब्ध प्रतिष्ठित व्यक्तित्वहरू समेत सम्मानित भएका थिए । उनीहरूलाई श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर, गैर आवासीय नेपाली सङ्घ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रूपमा सम्मान पत्र वितरण गरेका थिए ।
सो अवसरमा कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुतहरू पस्किएका थिए ।