महानगर प्रमुखहरूको एउटै बोली– ‘हामीलाई छुट्टै ऐन चाहियो’
'७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सकियो मेट्रो मेयर मिट'
पोखरा भएको ६ महानगरपालिकाको सम्मेलनले महानगरको छुट्टै ऐन जारी गर्न माग गरेका छन्। साना तथा ठूला सबै पालिकालाई एउटै भएको भन्दै संघीय संसदबाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन जारी गर्न माग गरेका हुन्।
पोखरामा भएको महानगरपालिकाका मेयरहरुको बैठकले संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै कम जनसंख्या र धेरै जनसंख्या भएको पालिकामा एउटै ऐन लागु भएको भन्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरेका छन्।
पोखरामा भेला भएका मेयरहरूले साना–ठूला सबै पालिका एउटै कानूनले चल्नु परेको गुनासो गर्दै संघीय संसदबाट महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न माग गर्ने निर्णय पनि गरेका छन् । ।
‘महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानूनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौं,’ मेयर सम्मेलनको घोषणापत्रमा भनिएको छ ।
घोषणापत्र जारी गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको फोहोर व्यवस्थापनमा चुनौती रहेको भन्दै यसको व्यवस्थापनका लागि संघीय सरकारले पहल गर्नुपर्ने बताए । त्यस्तै महानगरका छिमेकी उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग समेत सहकार्य गर्ने दृढता भेलामा प्रस्तुत भएको पोखराका मेयर आचार्यले बताए ।
संयुक्त घोषणा पत्रमा महानगर, यसका पदाधिकारी पक्ष वा विपक्ष भै कानुनी रक्षा÷प्रतिरक्षा गर्नु पर्ने विषय जटिल बन्दै गएको उल्लेख गर्दै संघ तथा प्रदेश सरकारले अपनाएको व्यवस्था अनुसार आवश्यक कानुनी प्रबन्ध गरि सबै महानगरको संगठन संरचनामा उपयुक्त व्यवस्था गर्ने उल्लेख छ।
महानगरका छिमेकी पालिकाहरूसँग समावेशी पूर्वाधार विकासमा सहकार्य गर्ने तथा संघ र प्रदेश सरकार एवं राज्यका अन्य अंग र निकायहरुसँग पारस्परिक सूचना सम्प्रेषण र परामर्श गरी सम्पर्क, समन्वय र सहकार्य गर्ने ऐक्यबद्धता पनि जनाइएको छ । संयुक्त घोषणा पत्रमा काठमाडौं, वीरगञ्ज, भरतपुर, ललितपुर, विराटनगर र पोखरा महानगरपालिकाका मेयरहरुले हस्ताक्षर गरेका छन्।