ओलीका कारण धर्म निरपेक्षता सम्भव बन्यो : सुवास नेम्वाङ

इलाम : नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानमा धर्म निरपेक्षता व्यवस्थाको लडाई केपी ओलीको नेतृत्वबाट सम्भव भएको बताएका छन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको संविधान निर्माण केपी ओलीको कारणले सम्भव भएको बताए। इलामको चुलाचुलीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेले संविधानमा धर्मनिरपेक्षताको व्यवस्था गरेको बताए।

‘हामीले धर्म निरपेक्षताको लडाई लड्यौँ, केपी ओलीको नेतृत्वमा। संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता समावेशितासहितको संविधान हामीले निर्माण गर्‍यौँ, केपी ओलीको नेतृत्वमा। यसमा नेकपा एमाले निरन्तर अगाडि बढ्यो,’ नेम्वाङले भने।

उनले मदन भण्डारी राजमार्गमा पर्ने चुलाचुली क्षेत्रमा पुलहरु निर्माण भइसकेकाले रतुवामा आगामी मंसिरदेखि गाडी गुड्ने बताए। नेम्वाङले चुलाचुली क्षेत्रमा सम्पूर्ण पुलहरु फागुनसम्ममा सम्पन्न हुने बताए। मदन भण्डारी राजमार्गमा ठेकेदारबाट राम्रो काम भएको बताउँदै उनले दमक–चिसापानी, भेडेटार–राँके सडकको हकमा ढिलासुस्ती भएको उल्लेख गरे।

नेम्वाङले इलाम विद्युतीकरण भएको नमुना जिल्ला भएको बताउँदै पूर्ण विद्युतीकरणको लागि ८५ करोडभन्दा बढीको परियोजना रहेको बताए। उनले दमकसँग जोडेर चुलाचुलीलाई सुन्दर सहरको रुपमा परिवर्तन गर्ने परिकल्पना गरिएको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार