नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई दुई दिनको पाहुनाको संज्ञा दिएका छन् ।
शनिबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने- ‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो । यी ढोडका लौरोका भर परेर नचल्न म सबैलाई सुझाव दिन चाहान्छु ।’ सर्वोच्च अदालतलाई गठबन्धनको उलामालामा नलाग्न उनले आग्रहसमेत गरेका छन् ।
साथै अध्यक्ष ओलीले संसदीय छानबिन विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरेको छानबिनलाई जनताले अस्वीकार गर्नुपर्ने बताएका छन् । बहुमत र अल्पमतका आधारमा प्रतिवेदन तयार पारिएको बताउँदै उनले भने, ‘फुटेज किन डिलिट गरियो, किन छैन भनियो ? बहुमत राखेर समिति किन बनाइयो ? बजेट निर्माण गर्दा राष्ट्रको ढुकुटीमारा काम आपराधिक काम भएकै हो । निष्पक्ष छानबिन गर्न खोज्यौँ तर दिइएन ।’