काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।
‘मंसिर ४ गते त निर्वाचन हुँदैछ, पक्कापक्की छ,’ उनले भने, ‘केही दिनमा नै औपचारिक रूपमा घोषणा हुन्छ ।’
प्रवक्ता महतले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए । देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न उनले निर्देशन दिए ।
प्रवक्ता महतले नेपाली कांग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताए । उनले नेपाली कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे ।
प्रवक्ता महतले आफ्नो आकंक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिए ।