एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय अमेरिकालाई स्वीकार

'प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँगको भेटमा लुले एसपीपीबारे चासो देखाएनन्'

काठमाडाैँ- संयुक्त राज्य अमेरिकाले नेपालले स्टेट पार्टनरशिप कार्यक्रम अघि नबढाउने भन्दै पठाएको पत्र प्राप्त भएको जनाउँदै आफूले नेपाल सरकारको निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने बताएको छ।

परराष्ट्रमन्त्री नारायण खड्काले शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा एसपीपी अघि नबढाउने गएको असार ६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयबारे अमेरिकालाई जानकारी गराइएको बताएका थिए।

उनले परराष्ट्र मन्त्रालयले श्रावण ९ गते यसबारे लिखित जानकारी पठाएको उल्लेख गरेका थिए। प्रतिनिधिसभामा परराष्ट्र मन्त्रीले उक्त धारणा राखेको केही घण्टापछि हाल नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

काठमाण्डूस्थित अमेरिकी राजदूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट विल्करले नेपाल सरकारले पठाएको पत्र आफूहरूले प्राप्त गरेको बताए।

परराष्ट्रमन्त्रीले संसद्‌मा एसपीपीबारे पत्राचार गरिएको जानकारी गराएको केही घण्टापछि अमेरिकी सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए।

तर ती भेटमा एसपीपीबारे दुवै पक्षबाट कुरा नउठाइएको अमेरिकी राजदूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख विल्करले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जाल ट्विटरमा लूसँग मित्रवत् तथा सहयोगी नेपाल अमेरिका सम्बन्धबारे छलफल भएको जनाएका छन्।उनले अमेरिकाको निरन्तरको विकास सहयोगका लागि धन्यवाद दिँदै अझै उच्चस्तरको आर्थिक सहयोगको अपेक्षा गरिएको जनाएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्का र लूबीचको भेटवार्तामा खाद्य सुरक्षा, आर्थिक विकास, कोभिड-१९ खोप र विकास सहकार्य जस्ता विषयमा छलफल भएको थियो।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणमा रहँदा शुक्रवार एसपीपीबारे गरिएको पत्राचारबारे परराष्ट्रमन्त्रीले संसद्‌मा जानकारी गराएका थिए।

यसअघि यसै साता प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पत्राचारको विषयमा परराष्ट्रमन्त्रीलाई बोलाएर सोध्ने निर्णय गरेको थियो। सभामुख अग्नि सापकोटाले पनि केही दिनअघि उक्त विषयमा जानकारी गराउन सदनमा रुलिङ गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार