नेपालमा बाघको संख्या बढेसँगै बासस्थान व्यवस्थापनको चुनौति

'बाघको आक्रमण बढ्दा स्थानीय त्रासमा'

नेपालले पछिल्लो १० वर्षमा बाघको सङ्ख्या दोबरभन्दा बढी पुर्‍याउने असाधारण उपलब्धि प्राप्त गर्दै बाघलाई लोप हुनबाट जोगाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ। तर उक्त कार्यको मूल्य स्थानीय समुदायले बेहोरेका छन्। बाघबाट हुने आक्रमणको सङ्ख्या बढेको छ।

‘बाघसँग जम्काभेट हुँदा तपाईँमा दुई फरक भाव उत्पन्न हुन्छ,’ बाघ संरक्षणका लागि गठन गरिएको एउटा एकाइका सदस्य क्याप्टेन आयुस जङ्गबहादुर राणा भने।

ओहो कस्तो भव्य जीव। र अर्को हो म अब जीवित रहन्न कि ?

बर्दियामा सशस्त्र गस्तीमा निस्किँदा उनले कैयौँ पटक पाटे बाघ देख्छन्।तराइ क्षेत्रमा रहेको बर्दियास्थित राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो र मानव गतिविधिबाट कम प्रभावित स्थान मानिन्छ।

बाघ संरक्षणको जिम्मा पाउनु सम्मानको कुरा हो। यति महत्त्वपूर्ण काममा सहभागी हुन पाउनु गर्वको विषय हो। बाघको चोरी सिकारप्रति नेपालले अपनाएको नीतिले संरक्षणको पहललाई सफल बनाएको छ।

राष्ट्रिय निकुञ्ज अन्तर्गतका टोलीलाई सेनाले पनि साथ दिएको छ। र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरी सिकार जस्ता गतिविधिको अनुगमन सामुदायिक एकाइले गर्छ जसले गर्दा बाघहरू सुरक्षित रही खुला रूपमा घुम्न पाउँछन्।
त्यस्तै एउटा मध्यवर्ती क्षेत्रसँगै रहेको खाता जैविक मार्ग ले बर्दिया राष्ट्रिय निकुञ्जलाई सीमा पार रहेको भारतको कतर्नियाघाट वन्यजीव अभयारण्यसँग जोड्छ।

तर बाघको सङ्ख्या बढ्दै जानुले निकुञ्ज आसपासका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणका लागि ज्यानै गुमाउने खालका जोखिम उत्पन्न गरेको छ।

नेपालमा पछिल्लो एक वर्षमा बाघले १६ जनालाई मारेको छ। त्यसअघिको पाँच वर्षमा जम्मा १० जनाले ज्यान गुमाएका थिए। प्रायजसो गाउँलेहरू राष्ट्रिय निकुञ्ज जाँदा, मध्यवर्ती क्षेत्रमा गाईवस्तु चराउन, फलफूल र च्याउ टिप्न वा दाउरा खोज्न जाँदा बाघको पर्ने गरेका छन्।

निकुञ्जबाट जैविक मार्ग हुँदै गाउँसम्म बाघ पुगेका केही घटना पनि छन्। वन्यजन्तु अनि मानव छुट्टिएर बसून् भन्नका लागि तार बारको व्यवस्था गरिएको छ तर वन्यजन्तुले सहजै त्यसलाई पार गर्न सक्ने अवस्था छ। संरक्षणमा सहयोगी भूमिका निर्वाह गरेका भदै थारुको शरीरमा बाघसँग भएको भिडन्तको दाग टडकारो छ।

सन् २००४मा आफ्नो गाउँ नजिकै रहेको सामुदायिक वनमा घाँस काट्दै गर्दा रामबहादुरमाथि बाघले आक्रमण गर्‍यो। उक्त घटनामा उनले एउटा आँखा गुमाए।
उनले आफ्नो चस्मा विरलै फुकाल्छन्। चस्मा फुकाल्दा बाघ आक्रमणका कारण उनको मुहारमा रहेको गहिरो दाग देखिन्छ। घटनामा उनले गुमाएको एउटा आँखा पनि देख्न सकिन्छ।

‘म रिसाएँ अनि दुखी पनि भएँ। संरक्षणवादीका हिसाबले मैले गलत के गरेँ ?’ उनले स्मरण गरे।

बाघहरूको पछिल्लो इतिहास त्यति राम्रो देखिँदैन।

एक शताब्दी अघि एशियामा बाघको सङ्ख्या झन्डै १००,००० थियो। सन् २०००को सुरुतिर त्यो सङ्ख्या चोरी सिकार र वासस्थानको अभाव जस्ता कारणले ९५ प्रतिशतले कम भएको पाइएको थियो। हाल जङ्गलमा ४,००० भन्दा कम बाघ छन्।

लोप हुन लागेका वन्यजन्तु संरक्षण गर्नका लागि सन् १९८८मा बर्दियामा ९६८ वर्ग किलोमिटर फैलिएको राष्ट्रिय निकुञ्ज स्थापना गरियो। त्यसअघि उक्त क्षेत्र शिकार आरक्ष थियो। सन् २०१०मा बाघको वासस्थानका रूपमा चिनिएका १३ देशले सन् २०२२ सम्ममा उक्त वन्यजन्तुको सङ्ख्या दोबर पार्ने प्रतिबद्धता जनाएका थिए।

ती देशमध्ये हालसम्म लक्ष प्राप्त गर्ने राष्ट्र नेपाल मात्रै हो।

नेपालमा सन् २००९मा १२१ रहेको बाघको सङ्ख्या १० वर्षमा बढेर ३५५ पुगेको छ। नेपालका मुख्य रूपमा पाँच राष्ट्रिय निकुञ्जमा बाघको वासस्थान रहेको पाइन्छ।

गैँडा, हात्ती र चितुवाको सङ्ख्या पनि बढेको छ।जङ्गली बाघहरूको सङ्ख्या कायम राख्नका लागि निकुञ्जका अधिकारीहरूले थप घाँसे मैदानहरू सिर्जना गरेका छन्। बाघको मुख्य आहार हरिणका लागि उचित वासस्थान बनाउन पानी पिउने स्थानको सङ्ख्या पनि बढाइएको छ।

तर बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वार्डन विष्णु श्रेष्ठ भने यस्ता मानवीय हस्तक्षेपका कारण बाघको सङ्ख्या बढेको कुरा अस्वीकार गर्छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार