अर्थमन्त्रीका लागि पार्टीमा शर्मा बाहेक अरूको विकल्प खाेजिएकाे छैन : वर्षमान पुन

काठमाडाैँ- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा भवन बानेश्वरमा पत्रकारहरूसँग कुराकानीमा गर्दै नेता पुनले संसदीय छानबिन समितिले निर्दोष ठहर गरेपछि अर्थमन्त्रीका लागि पार्टीमा शर्मा बाहेक अरूको विकल्प नखोजिएको बताए ।

उनले बरू आफु मन्त्री बन्ने वा नबन्ने भन्ने कुरा शर्माले सार्वजनिक नगरेको बताए । छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएका कारण अहिले निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्रीमा फर्कनुपर्ने आफ्नो धारणा रहेको पुनले बताए ।

बजेट निर्माणका क्रममा करको दरमा हेरफेर गरेको भन्ने प्रमुख प्रतिपक्षी दलको आरोप पछि छानबिनका लागि शर्माले राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले उनलाई निर्दोष सावित गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार