‘चन्द्रागिरि केबलकार पूर्ण सुरक्षित छ, रोकिँदैमा डराउनुपर्दैन’

चन्द्रागिरि केवलकारमा विश्वकै सुरक्षित प्रविधि प्रयोग गरिएको र विजुली जाँदा रोकिने जस्ता सामान्य समस्या आउँदा डराउन नपर्ने चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकालले बताएका छन् । चन्द्रागिरी केबुलकार सञ्चालक समितिले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले बेलाबेलामा केही प्राविधिक कारणले केबलकार रोकिने गरेको तर बाहिर यस विषयमा यथार्थ जानकारी नभएर गलत सूचना जाने गरेको उनको भनाई छ । केबलकार पूरैरुपमा बिजुलीमा निर्भर हुने भएकाले बिजुली गएपछि केही समय रोकिने र त्यसलगत्तै जेनेरेटर चल्ने उनले बताए ।

अध्यक्ष ढकालले भने , “यो केबलकारको प्रविधि अर्थात् उत्पादक अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनी हो । यो विश्वकै सबैभन्दा सुरक्षित कम्पनी हो र हाम्रोजस्ता विश्वका २० हजार केबलकारमा यही कम्पनीको प्रविधि सञ्चालनमा छ । यो प्राविधिक विषय हो र पूरैरुपमा बिजुलीमा निर्भर हुने भएकाले बिजुली गएपछि केही समय रोकिन्छ त्यसलगत्तै जेनेरेटर चल्छ । जेनेरेटरले पनि समय लाग्ने अवस्था भएमा हामीसँग ‘इमर्जेन्सी ड्राइभ’ का कैयौँ विकल्प छन् । त्यस्तै सङ्कट नै पर्ने या उद्धार नै गर्नुपर्ने भन्ने केही हुँदैन ।”
चन्द्रागिरि केवलकार पूर्ण सुरक्षित रहेको समेत उनको भनाई छ । ढकालले भन्नुभयो, “यो प्रविधि हो, पूरै सुरक्षित छ, तर कुनैबेला रोकिन सक्छ रोकिँदैमा डराउनुपर्दैन ।अध्यक्ष ढकालले तीन चरणबाट केबलकार सञ्चालन हुने जानकारी गराए ।

‘पहिलो विद्युतबाट सञ्चालन हुन्छ, विद्युत गएको खण्डमा एक मेगावाट बराबरको जेनेरेटरबाट सञ्चालन गरिन्छ, यदि त्यसले पनि काम गरेन भने, ‘इमर्जेन्सी ड्राइभ’ भन्ने छ, त्यो सय प्रतिशत चल्छ, त्यसमार्फत् जति पनि यात्रु डिब्बाामा हुनुहुन्छ, उहाँहरूलाई सकुशल अवतरण गराउने समयसम्ममा नै काम गर्छ,’ उनले भने ।उनले यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरूलाई निःशुल्क रूपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने र आकस्मिक रूपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनको समेत व्यवस्था रहेको जानकारी दिए ।

 

त्यस्तै चन्द्रागिरि केबलकारका सेल्स मार्केटिङ प्रमुख प्रभाकर खड्का केवलकार मेसिनबाट चल्ने भएकाले कहिलेकाहीँ केबलकार रोकिन सक्ने, प्राविधिक समस्या आउन पनि सक्ने भए पनि पूर्ण सुरक्षित रहजे र यसमा यात्रु आत्तिनु नपर्ने बताए।

केबलकारका इलेक्ट्रोनिक इञ्जिनियर सरोज चापागाईंले केबलकार रोकिएर कुनै पनि हालतमा दुर्घटना नहुने जिकिर गरेका छन् । उनी भन्छन्, ‘यदि प्राविधिक समस्या नै आइहाल्यो भने पनि अधिकतम ४० मिनेटमा आकस्मिक रूपमा मानिसलाई ओराल्ने काम हुन्छ, नत्र ५, १० मिनेटमा नै सुरक्षित रूपमा सञ्चालनमा आउँछ ।’

‘हरेक दिन केबलकार सञ्चालनमा ल्याउनुअघि प्राविधिक परीक्षण हुन्छ, त्यसपछि पनि समस्या आइहालेमा तत्काल विज्ञबाट अध्ययन हुन्छ र ५, १० मिनेटमा निराकरण गरेर सेवा सञ्चालन हुन्छ। यदि समय लाग्ने खालको समस्या देखियो भने आकस्मिक ड्राइभमार्फत् मानिसलाई अवतरण गराउँछौं, धेरै समय लाग्यो भने तलका यात्रुलाई तलैबाट फिर्ता गराउँछौं र माथिका यात्रुलाई माथि रिसोर्टमा पनि लैजान्छौं’, उनले थपे ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार