काठमाडौँ- बजेट निर्माणको वेला मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । बिहीबार प्रतिवेदन लेखन कार्य पूरा भएपछि समितिले शुक्रबार दिउँसो समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई बुझाएका हुन् ।
तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिनेगरी समितिले प्रतिवेदन तयार पारेको छ । समितिले नै मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’ गर्दा प्राप्त फोटो अनुसन्धानमा सहयोगी नभएको बताउँदै यसैका आधारमा सफाइ दिएको बताएको छ । समितिले शर्मा माथिको आरोप पुष्टि गर्ने प्रमाण नभेटाएको जनाएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा सीसीटीभीको हार्डडिक्स पठाउँदा जेठ १४ र १५ गतेको ५१ वटा सिंगल फ्रेमका क्लिपहरू प्राप्त हुन आए । उक्त क्लिपहरू चलायमान नरहेकाले छानबिनको कार्यमा त्यति सहयोगपूर्ण रहेनन् ।’ प्रतिवेदनमा थप भनिएको छ, ‘ती क्लिपहरूमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’
संसदीय छानबिन विशेष समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीपकुमार ज्ञवाली, मानबहादुर विश्वकर्मा, भानुभक्त ढकाल, बिमला विक, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव छन् ।प्रमुख प्रतिपक्ष एमालेका ४ सांसदले भने समितिको यो प्रतिवेदनमा राखिएको निष्कर्षको विरोध गरेका छन् ।