साढे दुई करोड रुपैयाँ बीमा रकम हत्याउन नक्कली बिहे गरेर श्रीमानको हत्या

'मिनीबसले ठक्कर दिई सर्जनकाे हत्या गरिएको पुष्टि'

काठमाडौँ– योजनाबद्ध रूपमा व्यक्ति हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बिमा कम्पनीबाट भुक्तानी लिनकै लागि दुई जनाको विवाह गराइएको र श्रीमान्‌लाई योजनाबद्ध रूपमा दुर्घटनामा मारिएको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को अनुसन्धानमा खुलेको हो ।

बाँके कोहलपुरका सर्जन विकको दुर्घटनामा मृत्यु भएको देखाई बिमा रकम हात पार्न हत्या भएको हो । हत्याअघि उनको साढे दुई करोड रुपैयाँको बिमा गरिएको थियो । योजनामुताबिक नै सपना मल्लसँग विवाह दर्ता गरिएको थियो । ठगीकै योजनाअनुसार यसरी बिमा गरी हत्या भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सपनासहित सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ब्युरोका प्रमुख एआइजी उत्तमराज सुवेदीका अनुसार सपना जापान जान लागेको अवस्थामा दिल्ली विमानस्थलबाट नेपाल फर्काएर पक्राउ गरिएको हो ।

गत २ वैशाख ०७८ मा सर्जनको बाँकेको बैजनाथ गाउँपालिका– ६ मा मिनीबसको ठक्करबाट मृत्यु भएको थियो । योजनाबद्ध रूपमा बसले ठक्कर दिएर हत्या भएको हाल अनुसन्धानमा खुलेको छ ।

त्यसअघि विकको रिलायन्स लाइफ इन्स्योरेन्समा बिमा गरिएको थियो । उनको मृत्यु हुनुभन्दा दुई महिनाअघि बिमा गरिएको र एक महिनाअघि मात्र सपनासँग विवाह दर्ता गरी बिमा इच्छाएको व्यक्तिमा उनको नाम राखिएको थियो । घटनाका मुख्य योजनाकार सञ्जीव अर्याल भएको र बिमा अभिकर्ता सरदार अहमत खाँलगायतको मिलेमतो रहेको सिआइबीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार