सवारी दुर्घटना रोक्न टाइम कार्ड लागु गर्ने तयारी

सुर्खेत। भर्खरै मात्र सडक सञ्जालहरु गाउँ ,गाउँमा जोडिदै गरेको कर्णालीमा दुर्घटना कम गर्नका लागि टाइम कार्ड लागु गर्न लागिएको छ । प्रदेश ट्राफिक कार्यालयले टाइम कार्डको कार्ययोजना तयार गरी लागु गर्ने तयारीमा रहेको जनाएको छ ।

दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागु गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षण भुवनेश्वर तिवारीले बताए । कर्णाली राजमार्ग, भेरी करिडोरमा सवारी दुर्घटना बढ्न थालेपछि जनधनको क्षति रोक्ने यो अभियान सञ्चालन गर्न लागिएको तिवारीले जानकारी दिए ।

साँघुरो र खाल्डै–खाल्डाले जीर्ण राजमार्गको अहिलेसम्म स्तरोन्नति हुन सकिरहेको छैन । जसका कारण सवारी साधनहरू दुर्घटनामा पर्ने गरेका छन् । टाइम कार्ड लागु गरेपछि अनियन्त्रित रूपमा हुइँकिने र दुर्घटनामा कमी आउने विश्वास ट्राफिक प्रहरीले लिएको छ ।

यस्तो सिस्टम लागु भएपछि सार्वजनिक सवारी साधनको गति नियन्त्रणमा आउने र दुर्घटनामा कमि आउने अपेक्षा लिइएको छ । जाजरकोटमा २०६७ सालमा टाइम कार्ड लागु गरी बीचमा हटाएको थियो ।

कच्ची कटान गरेका सडकहरुमा जथाभावी यातायाताका साधनहरू चलाउँदा दुर्घटना बढिरहेका छन् । सवारीचालक अनुमतिपत्र समेत नभएका व्यक्तिहरूले सवारी चलाउँदा दुर्घटना बढेको बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार