अमेरिकी मन्त्री डोनाल्ड लूले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दै
'दुई पक्षीय सम्बन्धको विषयमा छलफल हुने'
काठमाडौं- अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन्। उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यतालिका छ।
आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता हुने कार्यसूची रहेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। त्यसअघि परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ताको कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
लु गत मंसिरमा पनि नेपाल आएका थिए। नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाडौं आएका हुन्। सरकारले गत असार ६ मा एसपीपी अघि नबढाउने निर्णय गरे पनि अमेरिकालाई पत्राचार गरेको छैन।
लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई बिहीबार साँझ प्रदान गरेका छन्।