नागरिकतामा खुकुलो प्रावधान लागू गर्दा अपराध बढ्न सक्छ : खिमलाल देवकोटा

काठमाडौँ– राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा सङ्गठित अपराध बढ्ने चिन्ता थपिएको बताएका छन्।

आज बिहीवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अङ्गीकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए। उनले भारतमा छोरीलाई विवाह गरेर पठाएमा सात वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन भने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गरे। उनले यो प्रावधानले नेपालमा सङ्गठित किसिमको अपराध बढ्ने बताए ।

उनले भने, ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने र त्यसरी निवेदन दिँदा विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने व्यवस्था छ । विदेशी देशको नागरिकता त्याग गरेको कारबाही चलाएको सामान्य निस्सा मात्रै भए पुग्ने व्यवस्थाले विदेशी नागरिकता त्यागेको ठहरिँदैन । उसको निवेदन विदेशको सम्बन्धित निकायमा पुगेको पनि हुँदैन । उसँग दुई वटा नागरिकता कायमै रहन्छ । बरु २०७५ सालमा ल्याइएको विधेयकमा विवाहपछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो । यस्तो व्यवस्था विधेयकबाट हटाउनु दुर्भाग्यपूर्ण छ । भारतमा छोरीलाई विवाह गरेर पठाएमा सात वर्षसम्म कुर्दा केही नबोल्ने हामी ६ महिना पनि कुर्न सकेनौँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार