१२ वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कुनको नाफा कति ?

'अरूकाे नाफा बढ्दा सानिमा बैंकको घट्यो'

मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये केहीले गत आर्थिक २०७८-७९ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये सानिमा बैंक बाहेकले नाफा बढाएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गरिसक्नुपर्ने नेपाल राष्ट्र बैंकल जनाएको थियो । सोही अनुरुप केही बैंकहरुले विवरण सार्वजनिक गरेका छन् भने केहीले गर्ने तयारी गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई चौथो त्रैमासको अन्तरिक वित्तिय प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशित गरिसक्न निर्देशन दिएको थियो ।

 गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको नाफामा राम्रो सुधार हुने देखिएको छ ।  १२ वटा बैंकको नाफा गत आवमा ३३ अर्ब ७१ करोड ६२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । जबकी अघिल्लो आवको सोही अवधिमा बैंकहरुको नाफा २५ अर्ब ९५ करोड ५९ लाख ३० हजार रुपैयाँ थियो ।

कुन कुन बैंकले सार्वजनिक गरे वित्तीय विवरण ?
हालसम्म एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, प्रभु बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । अहिलेसम्म १२ वटा बाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् भने १५ बैंकले सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

कुन बैंकको वित्तीय विवरण कस्तो ?

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सवा ५ अर्ब रुपैयाँको हाराहारीमा नाफा आर्जन गर्न सफल भएको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ५ अर्ब २० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि २६.९० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म ५ अर्ब ९५ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्म बैंकले १० अर्ब ७४ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आमदानी ९ अर्ब १३ करोड रुपैयाँमा सीमित थियो ।

बैंकले २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप र कर्जा अघिल्लो वर्षको तुलनामा क्रमशः ३.३७ प्रतिशत र १३.०७ प्रतिशतले बढेको छ ।
बैंकको रिजर्भको आकार २५.३८ प्रतिशतले बढेर १० अर्ब १५ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।
बैंकले निष्क्रिय कर्जा (एनपीएल) १.४१ प्रतिशतबाट घटाएर १.२२ प्रतिशतमा झार्न सफल भएको छ। सीसीडी रेसियो ८९.२१ प्रतिशत रहेको बैंकको आधार दर ९.४० प्रतिशत रहेको छ ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २१.८८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस १९.२५ रुपैयाँ रहेको थियो । मूल्य आम्दानी अनुपात (पीई रेसियो) ११.४९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६.११ रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंक
एनआइसी एशिया बैंकको नाफा करिब ३९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा पनि १७ प्रतिशत वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको असरमा एक अर्ब ९२ करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा हाल २ अर्ब २४ करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य मुनाफा ३२ करोड ४७ लाख रुपैयाँले बढेको हो ।
जसको आधारमा गत आर्थिक वर्षका लागि १९.४३ प्रतिशत लाभांश दिने क्षमता बैंकसँग छ। मुख्यतया कर्जा जोखिम व्यवस्थापन बापतको रकम घटेपछि बैंकको खुद नाफा ३९ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा जोखिम व्यवस्थापन बापतको रकम २९ प्रतिशत घटेको हो ।

साढे ३५ करोड रुपैयाँभन्दा धेरैले बैंकको यस्तो रकम खुम्चिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ८७ करोड रुपैयाँ कर्जा जोखिम व्यवस्थापनको शीर्षकमा छुट्टाएको छ । निक्षेप संकलन कर्जा बिस्तारमा बैंक कमजोर भएपछि कर्जा जोखिम व्यवस्थापन बापतको रकम घटेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ग्राहकहरूसँग कुल २ खर्ब ८९ अर्ब ९० करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेर कुल २ खर्ब ५२ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन एक प्रतिशत घटेको हो भने मात्र डेढ प्रतिशतको वृद्धि कर्जा विस्तारमा देखिन्छ ।

चौथो त्रैमासको अन्त्यसम्म बैंकको कर्जा निक्षेप अनुपात ८८.२६ प्रतिशत छ। समीक्षा अवधिमा बैंकको आम्दानीमा पनि सन्तोषजनक वृद्धि छ । कर्जा बिस्तार बापत सञ्चित भएको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २७.५८ प्रतिशत बढेको हो। यसै अवधिमा बैंकको खुद फि तथा कमिसनको आम्दानी २४.३७ प्रतिशत बढेको छ। आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो ।

आम्दानीसँगै खर्चका आकार पनि बढेका छन्। कर्मचारी र सञ्चालन खर्च दुबै बढेका छन्। कर्मचारीहरूको खर्च ३५.८४ प्रतिशत बढ्दा सञ्चालन खर्चको आकार २९.११ प्रतिशत बढेको हो। यसका बाबजुद बैंकको सञ्चलन मुनाफा पनि साढे ३३ प्रतिशतको वृद्धि देखिएको छ ।

खुद नाफा उत्साहजनक तरिकाले बढ्दा प्रति सेयर आम्दानीमा करिब ११ रुपैयाँको वृद्धि देखिन्छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको प्रति सेयर आम्दानी ३९.१३ रुपैयाँ छ । विशेगरी गत आर्थिक वर्षका लागि लाभांश वितरण नहुँदा चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको जस्तै यथावत् छ। चुक्ता पुँजीको अनुपातमा खुद नाफा उल्लेख्य रूपमा बढ्दा प्रति सेयर आम्दानीमा सकारात्मक वृद्धि देखिएको हो ।
यस अवधिमा बैंकको प्रति सेयर नेटवर्थ पनि ३८.५२ रुपैयाँले बढ्दा २१७.५२ रुपैयाँ कायम हुन् पुगेको हो । र धितोपत्र बजारको अन्तिम कारोबार मूल्य प्रति कित्ता ७१६ रुपैयाँका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १८.३० गुणा छ ।

एनसीसी बैंक
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अर्थात एनसीसी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ३९.१७ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २५ पैसा बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २२.९६ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २६.१६ प्रतिशत र कर्जा २८.१३ प्रतिशत बढेको छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले समीक्षा अवधिसम्म २ अर्ब ५४ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४३.७७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ४२.८२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब ५४ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्म बैंकले ५ अर्ब ४२ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ९५ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले बढेको छ । बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकको रिजर्भको आकार थोरै घटेर ९ अर्ब ९ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष रिजर्भमा ९ अर्ब १४ करोड रुपैयाँ थियो । बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ०.२४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.१२ प्रतिशतमा सीमित थियो। सीडी रेसियो ८६.०४ प्रतिशत रहेको बैंकको आधार दर ८.८२ प्रतिशत रहेको छ ।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १९.९१ रुपैयाँबाट बढेर २७.०१ रुपैयाँ भएको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.२५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४०.७३ रुपैयाँ रहेको छ ।

सनराइज बैंक
सनराइज बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब १५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४८.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि १९.८९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब २७ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । चौथो त्रैमाससम्म बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५२ करोड रुपैयाँमा सीमित थियो ।

बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको रिजर्भको आकार ११.५० प्रतिशतले बढेर ५ अर्ब १४ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित थियो ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) १.४० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल १.३९ प्रतिशत थियो । सीडी रेसियो ८६.३० प्रतिशत रहेको बैंकको आधार दर १०.०१ प्रतिशत रहेको छ । बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १५.२५ रुपैयाँबाट बढेर २१.२६ रुपैयाँमा झरेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९.७४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६५.२९ रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मक १ अर्ब ६० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि २.१७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । चौथो त्रैमाससम्म बैंकले ४ अर्ब ८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ४५ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी १८.२७ प्रतिशतले बढेको छ ।

बैंकले १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । बैंकको रिजर्भको आकार १३.८६ प्रतिशतले घटेर ४ अर्ब २५ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) ०.७५ प्रतिशतबाट बढेर ०.८९ प्रतिशतमा झरेको छ। सीडी रेसियो ८८.९९ प्रतिशत रहेको बैंकको आधार दर ९.९९ प्रतिशत रहेको छ । बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.७३ रुपैयाँबाट घटेर १३.८८ रुपैयाँमा झरेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.३३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७.६९ रुपैयाँ रहेको छ ।

प्रभु बैंक
प्रभ बैंकले गत वर्ष २ अर्ब ६० करोड ३९ लाख ९७ हजार नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको हो । अघिल्लो आवको असार मसान्तमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २ करोड ३३ लाख रुपैयाँबाट बढेर ६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ६० करोड ३२ लाख ७६ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

१२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ रहेको छ ।१ खर्ब ७८ करोड ६५ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट घटेर १.२० प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ ।

सानिमा बैंक
गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा घटेको छ । एक वर्षको अवधिमा बैंकको नाफ १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार ३२७ रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३१ करोड ७८ लाख २१ हजार ५८० रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको १ अर्ब ४६ करोड ९९ लाख ८६ हजार १४५ रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी बढेर ४ अर्ब ७६ करोड ७१ लाख ९५ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोड ४९ लाख ८७ हजार रुपैयाँ रहेको छ । यस्तै खुद ब्याज आम्दानी ३ अर्ब ३१ करोड ९ लाख ५७ हजार रुपैयाँबाट बढेर ३ अर्ब २५ करोड २५ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड ८१ लाख रुपैयाँ रहेको छ । १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख निक्षेप संकलन गर्दा बैंकले असार मसान्तसम्म १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ०.१२ प्रतिशतबाट बढेर ०.३५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ २४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ०१ पैसा रहेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको समीक्षा अवधिसम्म २ अर्ब १६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३४.४३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि २४.७५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्म बैंकले ५ अर्ब ७ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ३५ करोड रुपैयाँमा सीमित थियो । बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकको रिजर्भको आकार ३२.५३ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ रहेको थिया । बैंकको निष्क्रिय कर्जा (एनपीएल) ०.६२ प्रतिशतबाट बढेर ०.८४ प्रतिशत पुगेको छ। सीडी रेसियो ८६.१६ प्रतिशत रहेको बैंकको आधार दर ९.८ प्रतिशत रहेको छ । बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १५.६७ रुपैयाँबाट २१.०७ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२.०६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५.७ रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक
नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षमा नाफा १४.८३ प्रतिशतले बढाएर ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको थियो ।
एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता ११.१३ प्रतिशत रहेको छ ।

यो अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ । अघिल्लो आवको असार मसान्तमा ५ अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा आइपुग्दा ५ अर्ब ९४ करोड ९० लाख ६८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ५ अर्ब ११ करोड ९५ लाख १८ हजार रुपैयाँबाट बढेर ६ अर्ब ७२ करोड ७६ लाख १ हजार रुपैयाँ रहेको छ ।

१८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ चु्क्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ६७ करोड ८० लाख ११ रुपैयाँ रहेको छ । १ खर्ब ८४ अर्ब ६९ करोड १० लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक वर्षको अवधिमा १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा २.४६ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा झरेको छ । २२ रुपैयाँ ३२ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा रहेको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंक
स्टयान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफा ६२.२६ प्रतिशतले बढाएर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३९ करोड ८८ लाख ५३ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफामा निकै छलाङ आएको छ ।

एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५९ करोड ३६ लाख ४० हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता १६.९० प्रतिशत रहेको छ । यो अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ ।

अघिल्लो आवको असार मसान्तमा २ अर्ब ५९ करोड ३७ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा आइपुग्दा ३ अर्ब ७५ करोड ७३ लाख ८० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब १ करोड २५ लाख ८९ हजार रुपैयाँबाट बढेर ३ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ चु्क्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७६ करोड ३७ लाख १ रुपैयाँ रहेको छ । ९३ अर्ब ७२ करोड १९ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक वर्षको अवधिमा ७९ अर्ब १७ करोड ३९ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.९६ प्रतिशतबाट घटेर ०.५९ प्रतिशतमा झरेको छ । २४ रुपैयाँ ०७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । एक वर्षको अवधिमा बैंकका नाफामा २४.७६ प्रतिशतको सुधार आएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा बैंकले १ अर्ब ४२ करोड ४६ लाख ४५ हजार ९३२ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा समेत सुधार देखिएको छ । अघिल्लो असार मसान्तमा ३ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा आइपुग्दा ५ अर्ब १२ करोड १२ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ४५ करोड ५२ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८४ करोड ९२ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब ५२ अर्ब ७९ करोड ८० लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३१ अर्ब ६१ करोड २४ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा १.६४ प्रतिशतबाट बढेर १.८७ प्रतिशत पुगेको छ । १५ रुपैयाँ ८५ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार