सालका रूख कटान गरेको आरोपमा सातजना पक्राउ

मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो ।

सो वडाको निर्माणाधीन भ्यूटावर हाताभित्र हरियो मध्यवर्ती सामुदायिक वन मासेको आरोपमा पक्राउ गरिएको बताइएको छ । चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनमा रूख कटानी भएको विशेष जानकारी पाइएपछि पर्सा वन्यजन्तु आरक्षले मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको जनाइएको छ ।

आरक्षका सहायक वार्डेन सन्तोष भगतका अनुसार पक्राउ परेकाहरुलाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उनले पक्राउ परेका सातमध्ये दुईजना ज्येष्ठ नागरिक रहेकाले निजका परिवारको रहोवरमा छाडिएको बताए । उक्त घटनाको अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको परिचय खुलाउन आरक्षले नमानेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार