विवेकशील साझाले आजको राष्ट्रियसभा उपनिर्वाचनमा कसैलाई पनि भोट नदिने

अबदेखि मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न माग

विवकेशील साझा पार्टीले बागमती प्रदेशतर्फ रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचनमा मतदान नगर्ने भएको छ ।

अहिले चुनावी मैदानमा रहेका कुनै पनि उम्मेदवारबाट पार्टीले अपेक्षा गरेको भूमिका निर्वाह नहुने ठहर गर्दै विवेकशील साझाले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको हो ।

पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै पार्टीले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको जानकारी दिए । ‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै उनले मतपत्रमा नो भोट को विकल्प शीघ्र लागु गर्न समेत निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् । विवेकशील साझाले सर्वोच्च अदालतले २०७० पौष २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको ब्यहोरा स्मरणीय गराएको छ ।

वागमती प्रदेशमा विवकशील साझा पार्टीका तीन जना प्रदेश सभा सदस्य छन् । उनीहरुको कुल मत भार १४४ छ । यो मत कुनै उमेद्वारलाई पनि नपर्ने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार