प्रधानमन्त्री समक्ष मौद्रिक नीतिबारे ब्रिफ गर्न बालुवाटार जादैँ गभर्नर, शुक्रबार सार्वजनिक गर्ने तयारी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकको अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको ड्राफ्टलाई राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बिफ्रिङ गर्दैछन् ।

बिहीबार बिहान मौद्रिक नीतिको बारेमा गभर्नरले बिफ्र गर्ने तयारी भएपनि प्रधानमन्त्रीको समय अभावको कारण बेलुकालाई सारिएको थियो । स्रोतका अनुसार केहीसमयपछि प्रधानमन्त्रीलाई गभर्नरले भेट्दै छन् ।  जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थमन्त्रालयको जिम्मा लिएका छन् ।

मौद्रिक नीतिका विषयमा छलफल गर्न राष्ट्र बैंकका गभर्नर अधिकारी र अर्थसचिव मधु मरासिनीलाई बालुवाटार जादैँछन्। प्रधानमन्त्रीले राष्ट्र बैंकले तयार गरेको ड्राफ्टलाई स्वीकृति दिए शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको योजना छ ।

यस्तै राष्ट्र बैंकले शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ । सञ्चालक समितिलाई ८ बजे बैठक बस्ने भनेर जानकारी राष्ट्र बैंकले पठाएको हो ।

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम आर्थिक वर्ष २०७९र८० को लागि मौद्रिक नीति ल्याउन लागेको हो । राष्ट्र बैंकलाई बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने चुनौती छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको अधिकांश सूचकहरु खस्किएको अवस्था छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, बढ्न नसकेको रेमिट्यान्स आप्रवाहलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । यस्तो अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती समेत राष्ट्र बैंकलाई छ ।

विगतका वर्षहरुमा मौद्रिक नीति साउनको पहिलो हप्ता भित्र सार्वजनिक गरिएको थियो । गत वर्ष भने गभर्नर अधिकारीले साउन २९ गते मौद्रिक नीति ल्याउनुभएको थियो ।त्यसभन्दा अघि आव २०७७र७८ को मौद्रिक नीति साउन २ गते ल्याइएको थियो । त्यसअघि चिरञ्जीवि नेपालको गभर्नर हुँदा पनि साउन २ गते नै मौद्रिक नीति ल्याइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार