चित्रकार डा.भौकाजीको निधन

चित्रकार डा।रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ । प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनी दिवङ्गत भएका हुन् । उनका भाइ साहित्यकार विमल भौकाजीले उनी दिवंगत भएको जानकारी दिए । रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गर्नुभएका डा। भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा कला, संस्कृति र इतिहाससम्बन्धी थुप्रै लेख पत्रपत्रिकामा प्रकाशित छन् । वि।सं २०२९ फागुन २४–२५ मा गृहजिल्ला रामेछाप, साँघुटार बजारमा उनको पहिलो एकल चित्रकला प्रदर्शनी भएको थियो ।

ललितकला महाविद्यालयका पूर्व छात्र उहाँले ‘मेरो नेपाल’ शीर्षकमा विभिन्न ठाउँको दृश्यचित्र रचना गरी थुपै्र प्रदर्शनी पनि गरेका थिए । अविवाहित डा। भौकाजीले गोरखा भूकम्पपछि वसन्तपुर दरबार, सुन्दरीजल बन्दीगृह, टोखा चण्डेश्वरी, पशुपति विश्वरूप आदिका स्थलगत चित्र पनि तयार गरी प्रकाशनमा ल्याएका थिए ।

पशुपति आर्यघाटमा उनको आजै दाहसंस्कार गरिएको छ । उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा नाफाका सदस्य सचिव विपिन घिमिरे, प्राज्ञ रामकृष्ण भण्डारी, पूर्वसांसद देवशङ्कर पौडेल, राजनीतिज्ञ लोककृष्ण भट्टराई, पूर्व प्राज्ञ नारदमणि हार्तम्छाली र रविन कोइराला, सोफाज नेपालका महासचिव देवेन्द्र थुम्केलीलगायत शुभेच्छुकको उपस्थिति थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार