संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको हो ।
अनाधिकृत व्यक्तिले करका दर हेरफेर गरेका खबर आएपछि शर्माले गत असार २२ मा पदबाट राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको थियो ।
बिहीबार शर्मासँग छलफल गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै समिति सचिव सुरेन्द्र अर्यालले आज बेलुका समितिको म्याद सकिने र छानबिन निष्कर्षमा नपुगेकाले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि प्रस्ताव गरिएको बताए।
उनले भने,’समितिले छानबिन प्रक्रियालाई निष्कर्षमा पुर्याउन आवश्यक समय थप गर्न माग गरेर सभामुखसमक्ष प्रस्ताव राखिएको छ,उहाँहरूले छलफल गरेर के गर्नुहुन्छ।’
छानबिनका निम्ति दिएको १० दिनको समय अपुग भएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको बताइएको छ । समितिको सिफारिस अनुसारको प्रस्ताव सभामुखले संसदमा निर्णायार्थ पेश गर्नुपर्नेछ। संसदले प्रस्ताव पारित गरेपछि समितिको म्याद थप हुनेछ । विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाएको छ।
त्यहाँबाट पनि प्रतिवेदन नआएकाले निष्कर्षमा पुग्न समितिको म्याद थप गर्नुपर्ने बताइएको छ ।
छानबिन समितिमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको ३ घण्टा बयान
जनार्दन शर्माको बयान : बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न छैनन्, सीसीटीभीबारे थाहा छैन्