सत्ता गठबन्धन कायम रहे एमालेलाई चुनाव जित्न सहज : शंकर पोखरेल

बर्तमान सरकार असंसदीय र निर्दलीय भएको आरोप

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा एमाले प्रतिस्पर्धा गर्न र विजय हाँसिल गर्न सक्षम भएको दावी गरेका छन् । बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पदाकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमालेलाई सहज हुने बताएका हुन् ।

उनले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’

उनले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाचनमा संस्थापनको विपक्षमा रुझान देखिएको बताए ।

‘आम चुनावका बेला सत्ताको नेतृत्वविरुद्धको रुझान कायम रह्यो भने यो गठबन्धनका विरुद्ध चुनाव लडेर हामीलाई विजय हाँसिल गर्न सहज हुनेछ भन्ने कुरा बुझ्न जरुरी छ । त्यसअर्थमा आउने निर्वाचन एमालेका पक्षको निर्वाचन हुनेछ भन्ने हाम्रो बुझाई र विश्लेषण छ’, पोखरेलले पार्टीको विश्लेषण सुनाए ।

महासचिव पोखरेलले एमालेसँग लड्नका लागि नेपाली कांग्रेसले अन्य दललाई प्रयोग गरिरहेको आरोप समेत लगाए । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा कमजोर देखाउन कांग्रेस र अन्य दलले मिलेर काम गरिरहेको उनको भनाइ छ ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिल्दा पनि एमालेको लोकप्रिय मत बढेको दाबी उनले गरे । ‘पहिला हामीले ३३ प्रतिशत मत पाएका थियौं,’ पोखरेलले भने, ‘उनीहरु मिलेर लडेको चुनावमा हामीले ३४ प्रतशित मत पायौं ।’

पोखरेलले शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार असंसदीय र निर्दलीय भएको समेत बताए । एमालेले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउँदा विरोध भएकोले फिर्ता गरेको तर अहिले देउवाले संसदीय मर्म नै नराखी त्यस सम्बन्धी विधेयक ल्याएको आरोप उनले लगाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार