बाँकेमा कोरोना सङ्क्रमण घट्यो, मृत्युदर घटेन

बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण केही दिनयता घट्दै गए पनि अस्पतालमा भर्ना भएका सङ्क्रमितको मृत्युदर भने घट्न सकेको छैन । सोमबार शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा कूल ३६३ जनाको पिसिआर परीक्षण गर्दा १४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार १४९ सङ्क्रमितमध्ये बाँकेका ४० पुरुष र ३५ महिला गरी ७५ जनामा सङ्क्रमण देखिएको हो ।

यसअघि प्रयोगशाला रिपोर्टमा कोरोना सङ्क्रमण दर दैनिक रुपमा ७० देखि ८५ प्रतिशतसम्म पुग्ने गरेको थियो । सोमबार सङ्क्रमित हुनेभन्दा कोरोना जित्नेको सङ्ख्या धेरै भएको छ । ७५ जना सङ्क्रमित थपिँदा सोमबार १७५ पुरुष र १९० महिला गरी ३६५ जनाले कोरोना निको भएको स्रोतव्यक्ति वलीले बताए । सङ्क्रमित हुनेको सङ्ख्या घटे पनि मृत्युदर भने घट्न सकेको छैन । कोरोना सङ्क्रमणबाट बाँकेमा सोमबार मात्र १३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाका १० र बाँकेका तीन जनाको मृत्यु भएको हो । बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

गत वैशाख ९ गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बाँकेमा कोरोना सङ्क्रमणका कारण २२५ जनाको अकालमै ज्यान गएको स्रोतव्यक्ति वलीले जानकारी दिए । उनका अनुसार, बितेको वैशाख महिनामा मात्रै १७२ जनाको मृत्यु भएको छ । यो अवधिमा दश हजार ११४ जना सङ्क्रमित भएका छन् भने छ हजार ४७० जना निको भएका छन् । बाँकेमा शुरुदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना सङ्क्रमित भएकामा ११ हजार १७२ जना निको भएर घर फर्किसकेका छन् ।

थप चार सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका थप चार सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा तीन र शिक्षण अस्पताल कोहलपुरमा एक गरी चारजना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मृतकहरू बाँकेका दुईजना, बर्दिया र दाङका एक एकजना रहेको वलीले जानकारी दिए ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दिया मधुवन नगरपालिका–७ निवासी ६५ वर्षीय पुरुषको ृत्यु भएको थियो । वैशाख ८ गते सङ्क्रमण पुष्टि भए पनि उहाँलाई जेठ २ गते मात्रै अस्पताल भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट २४२ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १९८ जनाको मृत्यु भएको स्रोतव्यक्ति वलीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार