महोत्तरीमा शौचालय निर्माणका विषयमा विवाद हुँदा चिर्पट हानाहान, एकको मृत्यु

एक महिलासहित चार गम्भीर घाइते

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

नातामा मामाभान्जा रहेका स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइन दुवै जनाको जग्गाको बीचमा आज शौचालय निर्माणसम्बन्धी विवाद हुँदा दुवै पक्षबाट बाँसको लाठी र चिर्पट हानाहान भएको थियो । लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउकोमा बाँसको ठूलो भाटा प्रहार गर्दा उनको मृत्यु भएको हो । टाउको काटिएर गम्भीर घाइते भएका जाविरको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । सोही घटनामा परी मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् ।

यता जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले घटनास्थललाई शान्त पारेको छ भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई पक्राउ गरेको तथा घटनासम्बन्धी अनुसन्धान भइरहेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार