आज एमाले कार्यदलको पहिलो बैठक बस्दै

नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको पहिलो बैठक आज बस्दैछ । २ जेठमा बनेको कार्यदलको बैठक दिउँसो तीन बजे सिंहदरबारमा बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए ।

कार्यदलमा सबै सदस्य उपस्थित हुने या नहुनेबारे भने केही खुलेको छैन । कायर्दल सदस्य शंकर पोखरेल दाङ गएका छन् भने अर्का संयोजक भीम रावल आँखामा समस्या भएका कारण आराम गरिरहेका छन् । नेम्वाङले भने, ‘को-को सदस्य उपस्थित हुनुहुन्छ, त्यो अझै तय भएको छैन ।’

नेम्वाङ अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् । गएको ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ ।

वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ । वार्ता टोलीमा दुवै पक्षबाट पाँच/पाँच जना सदस्य रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार