सप्तरीमा कुटपिटबाट एक महिलाको मृत्यु

सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सोही ठाउँका राजेश शर्मा र गनेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।

स्थानीय मनोज मण्डल साइकलमा खाद्यान्न लिएर आफ्नो घरतर्फ आउँदै गरेको अवस्थामा राजेश र गनेशको आफन्त पर्ने एक बालकलाई साइकलले ठक्कर दिएको भन्दै विवाद भएको थियो । सोही विवादको क्रममा राजेश र गनेशसहित गाउँका अन्य व्यक्तिले मनोजलाई कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बचाउने क्रममा उनीहरुको कुटपिटबाट जीरादेवीको मृत्यु भएकोे बुहारी अमरीदेवी मण्डलले जनाकारी दिइन् ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ । कुटपिटमा सम्लग्न व्यक्ति फरार भएका र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार