सार्वजनिक कार्यक्रममा जान छोडे गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा जान छोडेका छन् । बुधबार र बिहीबारका लागि तय भएका कार्यक्रमहरुमा उनले उपस्थित नहुने जानकारी गराएका छन् ।

बुधबार चार्टर एकाउन्टेन्टहरुको संस्था ए क्यानले मौद्रिक नीतिको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । तर कार्यक्रममा उनी सहभागी भएनन् । कार्यक्रममा उनको सट्टामा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी भए ।

बिहीबारका लागि तय भएको मौद्रिक नीतिको बहस कार्यक्रममा पनि सहभागी नहुने जानकारी उनले आयोजकलाई गराएका छन् । गभर्नर अधिकारी कार्यक्रममा सहभागी नहुने भएपछि उक्त कार्यक्रम नै रद्द गरिएको छ ।

नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा अर्थ तथा योजना विभाग सदस्यमा रहेको ‘एम अधिकारी, खोटाङ’ को नामको ब्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै अहिले सर्बत्र आलोचना भइरहेको छ । ।

एमाले गठन गरेको अर्थ तथा योजना विभागको सदस्यको दोस्रो नम्बरमा एम अधिकारी भनेर राखिएको छ । एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल प्रमुख रहेको १० सदस्यीय विभागमा रहेका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी नै भएको भन्दै सामाजिक सञ्जालदेखि सदनसम्म आलोचना भइरहेको हो । गभर्नर हुनु अगाडिसम्म अर्थ विभागमा एमालेले उनको पूरा नाम नै राख्ने गरेको थियो ।

यसअघि सुरेन्द्र पाण्डे अर्थ तथा योजना विभाग प्रमुख हुँदा खोटाङ नै ठेगाना उल्लेख भएका महाप्रसाद अधिकारी सदस्य थिए । यसअघि पनि उनी नै उक्त विभागको सदस्यमा बसिसकेको र एमाले सरकारबाटै गभर्नर नियुक्त भएकाले पनि यसपटक एम अधिकारी महाप्रसाद नै भएको आशंकामा बल पुगेको छ ।

यद्यपि, गभर्नर अधिकारीले मंगलबार नै आफू संलग्नता नहरेको दाबी गरिसकेका छन् ।

त्यस्तै नेकपा एमालेका नेता तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पार्टीको आर्थिक विभागको सदस्य नरहेको दाबी गरेका छन् ।

एमालेको अर्थ तथा योजना विभाग सदस्य ‘एम.अधिकारी’ को हुन् ?

गभर्नरको बचाउ गर्दै भने घनश्याम भुसालले भने – महाप्रसाद अधिकारी एमालेमा छैनन्

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार