हिमालयन–सिभिल मर्जरको ‘दि इन्ड’, सिटिजन्स बैङ्कसँग प्रक्रिया अघि बढाइँदै

हिमालयनलाई अप्ठ्यारो, राष्ट्र बैंकको कारबाहीमा पर्ने

लामो समयको छलफलपछि मर्जरको सम्झौता गर्ने मिति नै तोकेका हिमालयन र सिभिल बैंकबीचको मर्जर भाँडिएको छ । गत शुक्रबारलाई दुई बैंकको एमओयूको तयारी भएपनि अन्तिम समयमा आएर स्वाप रेसियो र कर्मचारी मिलान समायोजनमा कुरा नमिलेपछि मर्जर भाँडिएको हो ।

यद्यपि दैनिकजसो दुबै बैंकका प्रतिनिधिबीच बाक्लो कुराकानी भइरहेको थियो । नमिलेका कुराहरुमा घनिभूत छलफल गरी टुंगो लगाउने प्रयास भएको थियो ।

तर, मंगलबार दिउँसो सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले हिमालयनसँग मर्ज हुनका लागि समय वितिसकेको जवाफ दिएका छन् । १ साता हिमालयनले सम्मानजनक कर्मचारी समायोजनको खाका ल्याउला भनेर कुरेको सिभिल बैंकले सिटिजन्स बैंकसँग मर्जरमा जाने तयारी गरेको छ ।

मंगलबार मात्रै पनि सिभिल र सिटिजन्सको मर्जर कमिटि बसेर मर्जरमा जाने विषयमा भद्र सहमति जुटाएका छन् । यद्यपि त्यसलाई सञ्चालक समितिले औपचारिकरुपमा अनुमोदन गर्न भने बाँकी नै छ । सिटिजन्ससँग मर्जरमा जाने करीब करीब निश्चित भएपछि सिभिलले हिमालयनलाई अर्कै पार्टनर खोजिसकेको जवाफ दिएको हो ।

हाल सिभिल बैंकको अध्यक्ष प्रवलजंग पाण्डे रहेका छन् भने सिटिजन्स बैंकमा उनका दाजु प्रतापजंग पाण्डे संचालक रहेका छन् । दुबै बैंकमा पाण्डे समुहको लगानी रहेको छ ।

मर्जरमा सबै कुरा मिलेपनि हिमालयन बैंकले सिभिल बैंकको सीईओ रहेका सुनिल पोखरेललाई डेपुटी सीईओ दिन तयार नभएपछि मर्जरमा समस्या आएको थियो ।

यता सिटिजन्सले सिभिललाई ९७ दिन तयार भएको छ । यसको अर्थ सिभिल बैंकमा १०० कित्ता सेयरधनीको मर्जरपछि सिटिजन्समा ९७ कित्तामात्रै हुन्छ ।

हिमालयनसँग सिभिल ८१ को स्वाप रेसियोमा मर्जरमा जान सहमत भएको थियो ।

सिटिजन्सले सिभिलका केही संचालकको प्रतिनिधित्व गराउने आश्वासन दिएको छ भने कर्मचारीको सम्मानजनक समायोजन हुने विश्वास दिलाएको छ । सबै कुरा टुङ्गाएर यसै साता एमओयू हुने  बताइएको छ  ।

सिभिलले मर्जरमा नजाने जवाफ दिएसँगै हिमालयनलाई अप्ठ्यारो पर्ने देखिएको छ । नेपाल इन्भेस्टमेन्ट बैङ्कसँगको मर्जर विशेष साधारण सभाले मर्जरमा नजाने निर्णय गरेको थियो । साधारण सभाले नै मर्जर भाँडेपछि राष्ट्र बैङ्कले नियामयकी सुविधा नदिने लगायतका विभिन्न कारबाही गर्ने भएको छ ।

०७९ असार मसान्तसम्ममा अर्को बैङ्कसँग मर्ज नगरेको अवस्थामा हिमालयनले थप कारबाही भोग्नुपर्ने भएको छ । तत्कालै अर्को बैङ्क खोजेर मर्जरमा जान सक्ने सम्भावना पनि अत्यन्तै न्यून छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार