खिमलाल देवकोटालाई मतदान गर्न माओवादी केन्द्रको आह्वान

बादल प्रतिगमनको मतियार बनेको आरोप

नेकपा माओवादी केन्द्रले बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचन‍मा खिमलाल देवकोटालाई मतदान गर्न आह्वान गरेको छ । सोमबार माओवादी केन्द्रका बागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल‍ र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै कलम चुनाव चिन्हमा मतदान गरी देवकोटालाई जिताउन अनुरोध गरेका हुन् ।

‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा। खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले वागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख/अध्यक्ष र उप-प्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तीमा नेकपा एमालेबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’ लाई भने ‘प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेको’ आरोप लगाइएको छ ।

देवकोटालाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एमालेको माधव नेपाल पक्षको गठबन्धनबाट साझा उम्मेदवारका रूपमा अघि सारिएको हो । पार्टीको आन्तरिक विवाद समाधान गर्न संस्थापन पक्षसँग संवाद चलिरहेको बेला नेपाल पक्षले देवकोटालाई के गर्छ भन्ने टुंगिएको छैन । नेपाल पक्षले साथ नदिए थापा राष्ट्रियसभामा पुनर्निर्वाचित हुन गाह्रो हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य एक जनाको मतबराबर ४८ मत र स्थानीय तहका प्रमुख र उपप्रमुखको एक मतबराबर १८ मत गणना हुने बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । प्रदेशभित्र १ सय १० प्रदेशसभा सदस्यको ५ हजार २ सय ८० र १ सय १९ स्थानीय तहका २ सय ३८ अध्यक्ष र उपाध्यक्षका ४ हजार २ सय ८४ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जम्मा ९ हजार ५ सय ६४ मत रहेकोमा एमालेको मात्र मतसंख्या ९ हजार ५ सय ५६ छ । तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ३४ प्रदेशसभा सदस्यको १ हजार ६ सय ३२ मत छ । नेपाल पक्षका २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४ मत छ । माओवादी केन्द्रको २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४, कांग्रेसका २२ प्रदेशसभा सदस्यको १ हजार ५६ मत छ । नेमकिपाका दुईसहित अन्य आठ प्रदेशसभा सदस्य छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार