हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आज बिहान साढे ८ बजे हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीले गत असार १५ गतेदेखि असार १९ गतेसम्म आईपीओ बिक्री गरेको थियो । कम्पनीले १०० अंकित दरका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ जारी गरेको थियो । जसमा पहिलो चरणमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता पनि जोडिएको थियो ।
कुल कित्तामध्ये ३९ हजार ३६५ कित्ता (२ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ९८ हजार ४१३ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । बाँकी १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
यो आईपीओमा १५ लाख ९५ हजार ५५४ आवेदकबाट कुल १ करोड ७७ लाख ५४ हजार ३०० कित्ता सेयर माग भएको थियो । तीमध्ये १५ लाख ९३ हजार ७९६ आवेदकबाट परेको १ करोड ७७ लाख ३४ हजार ३७० कित्ता सदर भएको छ । यसमा १ हजार ७५८ आवेदकबाट परेको १९ हजार ९३० कित्ता बदर भएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसअनुसार भाग्यमानी १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनैमध्ये २० कित्ताभन्दा बढी आवेदन दिने भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। सदरमध्ये १४ लाख १० हजार ७४९ आवेदकको हात खाली भएको छ ।
यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ । अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ ।