राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्ने पार्टी एमाले हो : खिमलाल भट्टराई

'सरकारकै कारणले देशको अर्थतन्त्र संकटमा पर्दैछ'

स्थानीय तह निर्वाचनपछि मुलुकको राजनीतिमा वाम एकताको विषयले चर्चा पाएको छ । दैनिक जसो वाम एकताको विषयमा नेताहरुले आफ्नो अभिव्यक्तिहरु दिँदै आएका छन् । भेटघाट र छलफललाई समेत तीव्रता दिएका छन् । तर कतिपय कम्युनिष्ट नेताहरुले भने तत्काल वाम एकता सम्भव नभएको बताउँने गरेका छन् । यस्तो अवस्थामा आगामी संघीय निर्वाचनसम्म वाम एकताको सम्भावना कति छ ? यस विषयमा नेकपा (एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाला भट्टराईसँग कुराकानी गरेका छौँ । उनीसँग गरिएको कुराकानीको सम्पादीत अंश:

नेपालको इतिहासमा कम्युनिष्टहरुमा टुटफुट र एकताको श्रृंखला हेर्दा कुनै क्षति ब्यहाेरेपछि फेरि एक हुने गरेको देखिन्छ । स्थानीय निर्वाचनमा कम्युनिष्टहरुले जुन हार बेर्होनुपरेको छ, यसले फेरि एकपटक एकताको बहस बलियो बनाएको हो ?
जनता र पार्टी कार्यकताहरुको चाहना कम्युनिष्टहरु मिलेर अघि बढुन भन्ने छ । पहिलेदेखि नै थियो । नेकपा एमाले जनताका समस्या सम्बोधन गर्न लागेको छ । हामीले देश विकास मात्र देखेका छौँ । हामी देशर जनतालाई समाजवाद उन्मुख गराउँछौ भनेर लागेका छौँ । तर कम्युनिष्ट आन्दोलनको नाममा काँग्रेसको पुच्छर बनेका माओवादी र एकीकृत समाजवादी लगायतका दलहरुले यसतर्फ चासो दिएनन् । खाली सरकार बनाउने र पद प्राप्त गर्ने तिर उनीहरुको ध्यान केन्द्रित रह्यो । जनताका समस्या उनीहरुले सुन्न नै चोहेनन् । काँग्रेसको पुच्छर समाएर नै बैतर्णी तर्न सकिन्छ भन्ने उनीहरुको निष्कर्ष छ । यसले तत्काल कम्युनिष्टहरुबीच एकताको सम्भावना न्यून रहेको कुरालाई बलियो बनाउँछ । देशका आर्थिक विकास र समृद्धि काँग्रेसको नेतृत्वमा कुनै पनि हालतमा सम्भव छैन । तर उनीहरुले यो कुरा बुझ्न सकेनन् । काँग्रेसलाई बोकेर हिडिरहेका छने । काँग्रेसको गोटी बनेर कम्युनिष्ट आन्दोलन सफल हुँदैन भन्ने कुरा माधव र प्रचण्डले बुझ्न आवश्यक छ ।

कम्युनिष्टहरु विभाजित हुँदा त्यसको फाइदा काँग्रेसले लिइराखेको छ । ५ वर्षका लागि बनेको नेकपा सरकार कम्युनिष्टहरु नमिल्दा नै ढल्यो । देशमा करिब ६५ प्रतिशत भन्दा धेरै कम्युनिष्ट मतदाता रहेका छन् भन्ने गरिन्छ ? यस्तो हुँदाहुँदै पनि तपाईहरु मिल्न चाँहि किन नसक्नु भएको ?
नाम मात्र कम्युनिष्ट राखेर हुँदैन । ब्यानर कम्युनिष्ट राखेर हुँदैन । हसियाँ हतौडाको झण्डा भोक्दैमा कोही कम्युनिष्ट बन्न सक्दैन । व्यवहारमा प्रकट हुनुपर्छ । दक्षिणपन्थीको नेतृत्वमा हिडिरहेका वा गटी बनेकाहरु कम्युनिष्ट हुन सक्दैनन् । निजि स्वार्थमा लागेर देश विकास हुँदैन । कम्युनिष्टहरुले स्वार्थ त्याग्नु पर्छ । नेकपा गठन हुँदा सहमतिमा नै सबै काम गर्ने कुरा थियो । तर उहाँलाई पदको लोभ र व्यक्तिगत स्वार्थले विग्रार्यो । प्रचण्ड र माधवहरु काँग्रेससँग मागेर खाने ठाउँमा पुग्नु भयो । उहाँहरुकै कारणले नेकपा विभाजन भएको हो । तर वास्तविक कम्युनिष्टहरु देश र जनताका लागि मिल्नु पर्छ ।

चुनावी तालमेलका लागि एकीकृत समाजवादीले तपाईहरुलाई विभिन्न सर्त सहित प्रस्ताव गरेको भन्ने चर्चा छ । यो कत्तिको सत्य हो ?
यसमा कुनै सत्यता छैन । सम्भव पनि छैन । माधव नेपालल गायतका नेताहरु गठबन्धन जोगाउन लागि रहनु भएको छ । नेकपा एमाले बिकासको बाटोमा छ । उहाँहरु बिनाशको बाटोमा हुनुहुन्छ । कुरा नै मिल्दैन । यस्तो अवस्था उहाँहरुसँग एकताको सम्भावना छैन ।

बाम एकता नभए, वा अहिलेको यो गठबन्धन संघीय निर्वाचनसम्म जारी रहे नेकपा (एमाले) त पत्तासाप हुने देखियो है ?
कसरी हुन्छ पत्तासाप ? अहिले स्थानीय तहको निर्वाचनमा सिटका आधारमा दोस्रो भएपनि जनमतका हिसाबले एमाले पहिलो पार्टी हो । हामीसँग जनता छन् । देश बिकास गर्ने एजेण्डाहरु छन् । समाजको सबैभन्दा तल्लो वर्गको जिवनस्तर उकास्ने काम एमालेले मात्रै गर्न सक्छ । देशमा समृद्धि ल्याउने एक मात्र पार्टी एमाले हो । एमालेले संघीय निर्वाचनमा देश र जनताका लागि भए पनि जित्नु पर्छ । अघिल्लो कार्यकालमा सुरुवात गरेका थुप्रै कामहरु पुरा गर्नु छ । देशमा देखिएका आर्थिक संकटलगायतका समस्या समधान गर्नु छ । यस्तो अवस्थामा काँग्रेस वा अन्य कुनै दलले चुनाव जिते देश दुर्घटना तर्फ जान्छ । यो कुरा जनताले बुझेका छन् । यस्तो अबस्थामा एमाले पत्तासाप हुँदैन । अरुलाई पत्तासाप गराउँछ ।

माओवादी बिना सरकार बनाउने तागत एमालेसँग छ ? प्रचण्डले भनेको प्रश्न ।
माओवादी पार्टीलाई आजसम्म एमालेले जोगाउँदै ल्याएको छ । माओवादी पार्टी अहिले एक्लै चुनाव लडेर देखाओस् मेरो चुनौती । एक्लै चुनाव लड्ने हैसियत अहिले काँग्रेससँग पनि छैन । संघीय निर्वाचनले यीनीहरुको हैसियत छलङ्ग हुनेछ । हामी एक्लै सरकार बनाउन सक्षम छौँ । मन्त्री खोज्दै आउनु भयो भने प्रचण्डलाई पनि दिउँला । मन्त्री पद खोज्दै हिड्ने अनि हामी बिना कसैले सरकार बनाउन सक्दैन भन्ने प्रचण्डको भनाइ आग्रहपूर्ण छ । एमालेले साथ नदिएको भए प्रचण्डको माओवादी पार्टी लोप भइसक्थ्यो ।

अहिले नेपालमा कम्युनिष्ट भनिनेहरु वास्तविक कम्युनिष्ट होइनन् । सत्ता र पदको लोभले कम्युनिष्टहरुमा विचार शून्य भएको छ भन्ने आरोप लाग्ने गरेको छ ? यो विषयमा यहाँले के भन्नु हुन्छ ?
कम्युनिष्टको नाममा दक्षिण पन्थीको पुच्छर बन्नेहरु छन् । तर देशमा नेकपा (एमाले) पनि छ । एमाले अहिलेको राजनीति र कम्युनिष्ट आन्दोलनको केन्द्रबिन्दूमा छ । एमालेमा कम्युनिष्ट विचार शून्य छ भन्नु मुर्खता हो । सबैलाई एउटै डालोमा राखेर हेर्नु गलत हुन्छ । देश बिकासका लागि कम्युनिष्ट विचारदारा बोकेर हिड्ने एमाले मात्रै हो । हामी राष्ट्रिय स्वाभिमान लागि लड्यौँ । नाकाबन्दीका विरुद्ध लड्यौ । हामी सरकारमा हुँदा आर्थिक सूचक सबै मजबुत थियो । काँग्रेसको सरकारले यी सबै कुराहरु कम्जोर बनायो ।

अहिलेको सरकारको कामकारबाहीलाई एमालेले कसरी नियालेको छ ?
काँग्रेस नेतृत्वको बर्तमान सरकार इतिहासकै अयोग्य सरकार हो । यो सरकार सम्पूर्ण रुपमा नै असफल भइसक्यो । विद्यार्थीलाई पुस्तक दिन सक्दैन, किसानलाई मल दिन सक्दैन । विकास खर्च पनि राम्रोसँग गर्न सकिराखेको छैन । देशको अर्थव्यवस्था अस्तव्यस्त बनाएको छ । बैदेशिक मुद्राको सञ्चित घट्दै छ । देशलाई श्रीलंकाको बाटोमा लाने प्रयास सरकारले नै गरिराखेको छ । यो सरकार इतिहासकै नालायक सरकार हो । नेकपा (एमाले) नेतृत्वको सरकार हुँदा देशका सबै सूचकहरु सरकारात्म बाटोमा थिए । कोभिड महामारी कै बिच पनि देशमा हामीले थुप्रै सुधार गर्यौ । तर यो सरकार सेटिङ र कमिसनको धन्दामा व्यस्त छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटलाई कसरी लिनु भएको छ ?
अहिले सरकारले ल्याएको बजेट नाराको पुलिन्दा हो । सुन्दा कर्णप्रिय लाग्छ तर यहाँ भित्र केही छैन । निश्चित व्यक्तिको स्वार्थमा करका दर हेरफेर गरियो । यसबाट प्रस्ट हुन्छ कि यो सरकार देश र नागरिकप्रति गैरजिम्मेवार छ । यो बजेटले अहिलेको अर्थतन्त्रमा देखिएको संकट समधान गर्दैन । झन् समस्या सिर्जना हुने जस्तो देखिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार