सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ । यी दुवै कम्पनीले आज एक आपसमा मर्जरमा जाने सहमति गरेका हुन् । आज दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । असार २७ गते अपरान्ह ४ बजे दुबै कम्पनीको सञ्चालक समितिले मर्जरमा जाने निर्णय गरेका हुन् ।
कम्पनीले मर्जरमा गए लगत्तै शेयर कारोबार रोक्का गरिदिन समेत नेप्सेलाई अनुरोध गरेको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सहमति जुटाएका हुन् । यि दुई कम्पनीको मर्जर पछि बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुग्नेछ ।
हाल सिद्धार्थको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ छ भने प्रिमियरको एक अर्ब २२ करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने कम्पनीहरुले जनाएका छन् ।
बीमा समितिको निर्देशन पछि यस भन्दा अगाडी एभरेष्ट इन्स्योरेन्स र हिमलायन जनरल इन्स्योरेन्स कम्पनीले सहमति गरेका थिए । जीवन तर्फ पनि मर्जरको सहमति भइरहेको छ । तर अहिलेसम्म कुनै पनि एकिकृत कारोबार भने भइसकेको छैन ।